- नेपाल पर्यटन बोर्डको अगुवाइमा जनकपुर र वीरगञ्जमा ‘मधेस पर्यटन मिट’ कार्यक्रमको आयोजना गरिएको थियो।
- वीरगञ्ज महानगरका प्रमुखले मधेस प्रदेशका पर्यटकीय गन्तव्यको प्रवर्द्धन र पर्यटकको बसाइ बढाउन जोड दिए।
- ठोरी गाउँपालिकाका अध्यक्षले पूर्वाधारको कमीले गर्दा ठोरीको पर्यटन ओझेलमा परेको बताए भने पर्यटन बोर्डका निर्देशकले हातेमालोको आवश्यकताबारे जोड दिए।
पर्सा। नेपाल पर्यटन बोर्डको अगुवाइमा मधेसको पर्यटन प्रवर्द्धनका लागि जनकपुर र वीरगञ्जमा ‘मधेस पर्यटन मिट’ कार्यक्रम गरिएको छ । ‘मधेस पर्यटन मिट’ कार्यक्रमको शुक्रबार जनकपुरमा विविध कार्यक्रम गरेर शुभारम्भ गरिएकामा शनिबार वीरगञ्जमा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम गरेर समापन गरिएको हो ।
वीरगञ्ज महानगर, जनकपुर उपमहानगर र नाट्टा मधेस प्रदेशको समन्वयमा सो कार्यक्रम गरिएको हो । शनिबार भएको समापन कार्यक्रमको उद्घाटन सत्रमा वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले मधेस प्रदेशमा रहेका पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्न जरुरी रहेको बताए ।
“मधेसमा पर्यटकीय सम्भावना बोकेका क्षेत्र धेरै छन् । ती क्षेत्रमा भारतीयसहित विदेशी पर्यटकलाई आकर्षण गर्न सकेको खण्डमा प्रदेशको पर्यटन व्यवसायले फड्को मार्नेछ”, उनले भने ।
वीरगञ्ज आसपासका क्षेत्रमा पनि तीन रातसम्म पर्यटकलाई टिकाउन सक्ने पर्यटकीय सम्भावना बोेकेका क्षेत्र रहेका जनाउँदै प्रमुख सिंहले अहिलेसम्म वीरगञ्ज केवल बाटोका रूपमा मात्रै प्रयोग हुँदै आइरहेकामा चिन्ता व्यक्त गरे । “अब यहाँ पर्यटकको बसाइ बढाउनका लागि सबैले हातेमालो गरेर अघि बढ्न जरुरी भइसकेको छ”, उनले भने ।
प्रमुख सिंहले वीरगञ्जमा शङ्कराचार्य गेटदेखि पशुपतिनाथ मन्दिरलगायत धार्मिक तथा ऐतिहासिक पूर्वाधार भएकाले पर्यटन प्रवर्द्धनका लागि सबैले समन्वय गरेर अघि बढ्नुपर्ने बताए ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले मधेसमा पर्यटकीय सम्भावना बढी भएकाले सबैले हातेमालो गरेर पर्यटन प्रवर्द्धनमा जुट्नुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले प्रदेशमा भारतीय पर्यटकको गन्तव्यका रूपमा विस्तार गर्न आवश्यक रहेकामा जोड दिए।
नाट्टा मधेस प्रदेशका अध्यक्ष मोहन शर्माले पर्यटकीय गतिविधिलाई चलायमान बनाउन मधेस पर्यटन मिट कार्यक्रम अघि सारिएको बताए । “मधेसमा भएका पर्यटकीय स्थलको प्रवर्द्धनका लागि यस्ता खालका कार्यक्रमले महत्त्व राख्छन्”, उनले भने, “हामीले भारतका पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायलाई पनि बोलाएर आवश्यक छलफल र समन्वय गरेर पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम गर्दै आइरहेका छौँ ।”
टुरिजम एसोसिएसन विहारका अध्यक्ष एसके शर्माले नेपाल र भारतबिच ऐतिहासिक र धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेकाले दुवै मुलुकले एकापसमा समन्वय गरेर पर्यटन क्षेत्रको विकास गर्नुपर्ने बताए । वानारसी टुरिजम बोर्डका सचिव सौरभ पाण्डेले रामायण सर्किटलाई पर्यटकीय स्थलका रूपमा विकास गर्नुपर्ने बताए।




