यात्रुवाहक बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

महोत्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका–१, रातो पुल नजिकै बसको ठक्करले एक पैदल यात्रीको ज्यान गएको छ ।
काठमाडौँबाट इलामतर्फ जाँदै गरेको बागमती प्रदेशको नम्बर ३–००१ ख २७२९ बसले गए राति करिब १२:५० बजे अन्दाजी ४५/५० वर्ष उमेरका पुरुषलाई ठक्कर दिएको थियो ।
घटनापछि गम्भीर घाइते भएका पुरुषलाई उपचारका लागि बर्दिबास अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा राति साढे १ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तु जयसवालले बताए । मृतकको पहिचान भने अझै खुल्न सकेको छैन ।

डिएसपी जयसवालका अनुसार बसले पैदल यात्रीलाई ठक्कर दिएपछि रोकिनुको साटो गन्तव्यतर्फ लागिरहेको थियो ।

घटनापछि सिराहा जिल्लाबाट उक्त बसलाई नियन्त्रणमा लिइएको छ । बसका चालक, धादिङ थाक्रे गाउँपालिकाका राजेन्द्रप्रसाद प्याकुरेललाई पक्राउ गरी आज बिहान पाँच बजे महोत्तरी ल्याइएको छ ।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः