काठमाडौंमा दुई करोडभन्दा बढीका गहना बरामद, भारतीय नागरिकसहित चार जना पक्राउ

काठमाडौं, २९ जेठ — काठमाडौं महानगरपालिका–२२ स्थित प्युखा कृष्णचोकमा सञ्चालित ‘मुन्ना जेम एण्ड ज्वेलर्स’मा प्रहरीले सोमबार साँझ छापा मारेर करिब दुई करोड एक लाख रुपैयाँभन्दा बढी मूल्यका सुन, हिरा र बहुमूल्य पत्थरका गहना बरामद गरेको छ।

भारतको कोलकातास्थायी ठेगाना भई हाल नेपालमा बसोबास गर्दै आएका ४३ वर्षीय हाविबोर सेखले कुनै बिल वा रसिद बिना अवैध रूपमा गहना बिक्री गर्दै आएको सूचनाका आधारमा प्रहरी टोलीले साँझ ६:३० बजे पसलमा छापा मारेको हो।

छापाको क्रममा पसल सञ्चालक सेखसहित तीन भारतीय नागरिकहरू — ३९ वर्षीय सुरोजित दास, ४० वर्षीय तमोल साद्रा, र १६ वर्षीय सामुहिम सेख — लाई पक्राउ गरिएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त जनसेवाबाट खटिएको संयुक्त प्रहरी टोलीले छापाको क्रममा विभिन्न किसिमका सुन–चाँदीका गरगहना, हिराका टुक्रा, चेकबुक, बैंक भौचर, खरिद बिल, नोटबुक तथा आइफोन १५ प्रो म्याक्स समेत बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार सो पसलले लामो समयदेखि करछली गर्दै आएको र नेपालमा अवैध रूपमा सुन तथा हिराको कारोबार गरिरहेको आशंका गरिएको छ। हाल पक्राउ परेकाहरू प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।

प्रहरीले बरामद गरिएका गहनाको मूल्याङ्कन प्रक्रिया अघि बढाएको छ भने घटनासँग सम्बन्धित अन्य व्यक्ति र नेटवर्कको खोजी पनि जारी रहेको जनाएको छ।

नेपाल प्रहरीले भारतीय नागरिकद्वारा सञ्चालित अवैध गहना कारोबारमा कडाइ गर्ने संकेत दिएको छ

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः