चन्द्रपुर (रौतहट ), जेठ २९ गते । अत्यधिक गर्मीले विद्यार्थीलाई पठनपाठनमा समस्या हुन थालेपछि रौतहटको गौर नगरपालिकाले नगरपालिका मातहतका सबै विद्यालयहरुलाई बिहानी सत्रमा कक्षा सञ्चलान गर्न निर्देशन दिएको छ ।
गौर नगरपालिकाले बुधबार एक सूचना प्रकाशित गर्दै आज बिहीबारदेखि लागू हुने गरी सामुदायिक र निजी विद्यालयहरुलाई बिहानी सत्रमा कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।
केही दिनदेखि गौर लगायत आसपासका क्षेत्रमा अत्यधिक गर्मीसँगै दिउँसोको समयमा तातो हावासमेत चलिरहेका कारण दिउँसोको समयमा कक्षा सञ्चालन गर्दा विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकूल असर परिरहेकाले त्यसलाई मध्यनजर गर्दै बिहान ६ बजेदेखि कक्षा सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिइएको नगरपालिकाका शिक्षा शाखा प्रमुख उत्तमकुमार उपाध्यायले जानकारी दिनुभयो ।
केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण सामुदायिक तथा संस्थागत विद्यालयका बालबालिका मुर्छित हुने, गर्मी खप्न नसक्ने लगायतका कारण विद्यालय बन्द गर्न अभिभावक लगायत सरोकारवालाले अनुरोध गरे पछि नगरपालिकाले वैकल्पिक बाटो रोजेको हो ।
शिक्षा शाखा प्रमुख उपाध्यायका अनुसार तोकिएको समयमा कक्षा संञ्चालन नगरे कारबाही समेत गरिने छ ।
यता रौतहटको दुर्गाभगवती गाउँपालिकाले बिहीबार र शुक्रबार गरी दुई दिन विद्यालयमा गर्मी बिदा दिएको छ । बढ्दो गर्मीका कारण बालबालिकाको स्वास्थ्यको ख्याल गर्दै वर्षे बिदाबाट कट्टा हुने गरी दुई दिन विद्यालयमा बिदा दिइएको गाउँपालिका अध्यक्ष शम्भु सिंहले बताउनुभयो ।
रौतहटका १८ स्थानीय तहमध्ये गौर र दुर्गाभगवती बाहेक अन्य स्थानीय तहले कक्षा सञ्चालनको समय बिहानी सत्रमा मात्र गर्ने वा विद्यालय नै बन्द गर्ने बारे कुनै निर्णय गरेको छैन । एक सातादेखि बढेको गर्मी तथा तातो हावाले रौतहटको जनजीवन प्रभावित बनेको छ ।




