बारा जिल्लाको प्रसौनी गाउँपालिका–६ की ८ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजय राज पण्डितका अनुसार जेठ १४ गते राति बालिकामाथि बलात्कार भएको घटना सम्बन्धमा अनुसन्धानका लागि सात जनालाई नियन्त्रणमा लिइएको हो । घटनाबारे प्रारम्भिक जानकारी प्राप्त भएलगत्तै खोजतलास तथा अनुसन्धान अघि बढाइएको उनले बताए ।
घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेका व्यक्तिहरूको नाम गोप्य राखिएको र जिल्ला अदालत बाराबाट जबरजस्ती करणी मुद्दामा पाँच दिनको म्याद लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बालिकाको अहिले वीरगञ्जस्थित एक अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकहरूका अनुसार उनको अवस्था गम्भीर भए पनि स्थिर छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।




