आइपिएल च्याम्पियन बन्न चार टिम दौडमा, तोडिएला आरसिबी र पञ्जाबको उपाधि खडेरी ?

इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ अब उपाधिको अन्तिम लडाइँतर्फ प्रवेश गरेको छ । लिग चरणका सबै खेल सकिएसँगै प्लेअफ समीकरण स्पष्ट भएको छ ।

१० टिम सहभागी प्रतियोगिताबाट शीर्ष चार टोली प्लेअफमा पुगेका छन् । मंगलबार राति सम्पन्न लिग चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले लखनउ सुपर जायन्ट्सविरुद्ध कीर्तिमानी जित निकालेपछि क्वालिफायर वानको टुंगो लाग्यो ।

अब पहिलो क्वालिफायर खेलमा आरसिबीले लिग चरण विजेता पञ्जाब किंग्ससँग प्रतिस्पर्धा गर्नेछ । पञ्जाब यसपटकको लिग चरणको सबैभन्दा सफल टोली बन्यो । आरसिबी पछिल्ला खेलमा प्रभावशाली प्रदर्शनसहित प्लेअफमा प्रवेश गरेको हो ।

दुवै टोली उपाधिको नजिक पुग्न आतुर छन् । क्वालिफायर वानमा विजयी हुने टिम सिधै फाइनल प्रवेश गर्नेछ, जबकि पराजित टिमलाई एलिमिनेटर विजेतासँग प्रतिस्पर्धा गर्ने अवसर हुनेछ । त्यसैले बिहीबार हुने आरसिबी र पञ्जाबबीचको खेल निर्णायक मात्र होइन, निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

लिग चरणमा आरसिबी र पञ्जाबले समानरूपमा उत्कृष्ट प्रदर्शन गरे । दुवै टिमले १४ खेलमध्ये ९ मा जित हासिल, चार खेलमा पराजय बेहोर्दा एक/एक म्याचमा वर्षाका कारण अंक बाँडे । फलस्वरूप दुवै टोली १९/१९ अंकका साथ क्वालिफायर चरणमा प्रवेश गरेका छन् । अंक तालिकामा पञ्जाब शीर्ष स्थानमा रहँदा आरसिबी दोस्रो बन्यो ।

समान अंक र सफलता मात्रै होइन, यी दुई टिमबीचको अर्को उल्लेखनीय समानता हो– उपाधिविहीन इतिहास । आरसिबी अहिलेसम्म तीनपटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । उसले अन्तिमपटक सन् २०१६ मा फाइनल खेलेको थियो । पञ्जाबले भने सन् २०१४ मा पहिलोपटक फाइनलको टिकट काटेको थियो । तर, त्यसयता उसले फाइनलमा स्थान बनाउने अवसर पाएको छैन ।

यस सिजन यी दुईमध्ये कम्तीमा एक टिमको वर्षौँ लामो प्रतीक्षा टुंगिने निश्चितजस्तै छ । यस्तै, प्लेअफको एलिमिनेटर खेलमा दुई बलियो टिम मुम्बई इण्डियन्स र गुजरात टाइटन्स शुक्रबार आमनेसामने हुने छन् । लिग चरणमा गुजरात तेस्रो र मुम्बई चौथो स्थानमा रहेकाले यी दुई टोली एलिमिनेटरमा भिड्न लागेका हुन् ।

गुजरातले लिग चरणमा १४ खेलमध्ये ९ मा जित र ५ खेलमा हार बेहोर्दै १८ अंक जोड्यो भने मुम्बईले ८ मा  जित, ५ मा हार र एक खेलमा अंक बाँड्यो । अब यी दुई टोलीका लागि जित अनिवार्य छ, किनभने पराजित हुने टिमको उपाधि यात्रा यहीँ अन्त्य हुनेछ ।

विजेता टिमले भने क्वालिफायर–२ मा स्थान बनाउनेछ, जहाँ उसले आरसिबी र पञ्जाबमध्ये पराजित टिमसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

इतिहासको कुरा गर्दा मुम्बई आइपिएलको सबैभन्दा सफल टोली हो, उसले पाँचपटक उपाधि जितेको छ । तर, मुम्बईले सन् २०२० यता उपाधिको स्वाद चाख्न सकेको छैन । उता नवप्रवेशीका रूपमा उदाएको गुजरातले सन् २०२२ मा उपाधि जित्दै सनसनी मच्चाएको थियो ।

अब एलिमिनेटरमा यी दुई टिमबीचको भिडन्त केवल अर्को चरणमा पुग्ने होड मात्र होइन, विगतमा कमाएको प्रतिष्ठा जोगाउने र भविष्यका लागि सम्भावना विस्तार गर्ने अवसर पनि हुनेछ ।

दबाब र अनुभवले भरिएको यो महत्त्वपूर्ण खेलमा जुन टिमले उत्कृष्ट प्रदर्शन गर्न सक्छ, उसैले मात्र उपाधितर्फको यात्रा जारी राख्न सक्नेछ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः