रक्सौल — भारत-नेपाल सीमावर्ती क्षेत्र रक्सौल नजिकै बुद्धकालीन एक दुर्लभ मूर्ति फेला परेपछि यस क्षेत्रको ऐतिहासिक महत्वबारे पुनः चर्चा सुरु भएको छ। रक्सौलका पूर्व जिल्ला परिषद सदस्य इन्द्रासन प्रसादका पिता इन्दु साह बुधबार नेपालबाट बहने धूतहा नदी किनारको भेलाहीस्थित आफ्नै खेतमा गएका बेला गौतम बुद्धको ध्यानमग्न अवस्थाको मूर्ति फेला परेको हो।
काला संगमरमरबाट निर्मित उक्त मूर्तिमा बुद्ध पद्मासन (कमलासन)मा बसिरहेका छन् र दुवै हात गोदमा राखिएको अवस्थामा छन्। यो मुद्रा ध्यानमग्न बुद्धको विशिष्ट प्रतीक मानिन्छ। मूर्तिको निधारमा कलश वा तेस्रो आँखाको आकृति पनि देखिएको छ, जुन चेतनाको उच्च स्तरको प्रतीक हो।
विशेषज्ञहरूका अनुसार, यस्ता मूर्तिहरू अज्ञानतामाथि विजय र ज्ञान प्राप्तिको संकेतका रूपमा लिइन्छन्। मूर्ति हेर्दा निकै कलात्मक शिल्पकला झल्किन्छ, जुन दक्ष कारीगरद्वारा हातैले बनाइएको हुनसक्ने अनुमान गरिएको छ।
यसअघि पनि यस क्षेत्रमा पुराना सिक्का, माटोका भाँडाकुँडा जस्ता पुरातात्त्विक सामग्री भेटिइसकेका छन्। स्थानीयहरूका अनुसार, यस क्षेत्रको चप्पा–चप्पामा बुद्धसँग सम्बन्धित इतिहास गाँसिएको छ भन्ने किंवदन्तिहरू प्रचलित छन्।
पूर्व जिल्ला परिषद सदस्य इन्द्रासन गुप्ताले मूर्ति सुरक्षित रूपमा राखिएको जानकारी दिए। अहिले पुरातत्व विभागका अधिकारीको प्रतिक्षा गरिएको छ, जसबाट मूर्ति कुन समयको हो भन्नेबारे प्रष्ट जानकारी पाइनेछ।
अम्बेडकर ज्ञान मञ्चका संस्थापक मुनेश रामले यो मूर्तिलाई संरक्षित गर्दै सो स्थानमा बौद्ध मन्दिर स्थापना गर्नुपर्ने माग गरेका छन्। साथै, उनले पुरातत्व विभागलाई गहिरो अनुसन्धान गर्न आग्रह गरेका छन्, जसले गर्दा यस क्षेत्रको इतिहास पुनः लेखिन सक्ने संभावना रहेको बताएका छन्।
हाललाई यो मूर्ति स्थानीय क्षेत्रमै कौतूहल र चासोको केन्द्र बनेको छ।




