डीएसपीले चलाएको गाडीले दिएको थियो सांसद सवार गाडीलाई ठक्कर

कोशी प्रदेश सभा बैठकमा सहभागी हुन आइरहेका चार जना सांसद चढेको गाडी जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत डीएसपी खगेन्द्र खड्काले चलाएको गाडीले ठक्कर दिएको हो ।

  • ५ जेठ विराटनगरमा प्रदेश सभा बैठकको क्रममा सवारी दुर्घटना हुँदा चार सांसद घाइते भएका छन्।
  • सांसदहरू पाँचथरकी कांग्रेस सांसद मैया श्रेष्ठ, झापाका एमाले सांसद राधाकृष्ण खनाल र नम्बरलाल धिमाल, मोरङकी नेकपा एकीकृत समाजवादी सांसद विद्या चाम्लिङ र डीएसपी खगेन्द्र खड्का घाइते भएका हुन्।
  • दुर्घटनामा चारैजना सांसदलाई सामान्य चोट लागेको र उनीहरू अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीले जानकारी दिएको छ।

५ जेठ, विराटनगर । प्रदेश सभा बैठकमा सहभागी हुन आउने क्रममा सवारी दुर्घटना हुँदा कोशी प्रदेशका चारजना सांसद घाइते भएका छन् ।

सोमबार दिउँसो ३ बजेबाट सुरु प्रदेश सभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिरहेका छन् ।

सोही बैठकमा सहभागी हुन पाँचथरकी कांग्रेस सांसद मैया श्रेष्ठ लावती, झापाका एमाले सांसद राधाकृष्ण खनाल र नम्बरलाल धिमाल तथा मोरङकी नेकपा एकीकृत समाजवादी सांसद विद्या चाम्लिङ एउटै गाडीमा विराटनगर आउँदै थिए । गाडी पाँचथरकी सांसद मैया श्रेष्ठको हो ।

विराटनगर आउने क्रममा पूर्वपश्चिम राजमार्गको कानेपोखरीको जंगलमा दुर्घटनामा परेको हो । ‘बैठकका लागि आउदै थियौं, हाम्रो गाडी दुर्घटना भयो,’ सांसद चाम्लिङले भनिन्, ‘जिउ दुखिरहेको छ अहिले अस्पताल जाँदैछौं, बैठकमा जान सकिएन ।’

उनका अनुसार विपरित दिशाबाट आउँदै गरेको कारसँग ठोक्किँदा गाडी सडकमा पल्टिएको थियो । ‘पश्चिमबाट आउँदै गरेको कार नेपाल प्रहरीका डीएसपीले चलाएका रहेछन्, हामीले ए, ए, ए, भन्दाभन्दै कार आएर ठोक्किहाल्यो,’ उनले भनिन्, ‘हाम्रो गाडी ३–४ बल्ड्याङ पल्टियो । कसरी पो बाँचियो ।’

उनका अनुसार चारैजना सांसदलाई सामान्य चोट लागेको छ । चारैजना स्वास्थ्य उपचारका लागि अरनिको अस्पताल उर्लाबारी पुगेका छन् । अर्काे कार जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत डीएसपी खगेन्द्र खड्काले चलाएका थिए । उनी पनि सामान्य घाइते भएका छन् ।

सांसद सवार गाडीका चालक भेषराज श्रेष्ठ पनि सामान्य घाइते भएका छन् । दुईवटै गाडीमा सवार भएकाहरूको अवस्था सामान्य रहेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः