काठमाडौं – महिला टी–२० विश्वकपको एशियाली क्षेत्र छनोटअन्तर्गत नेपालले सुपर–३ चरणमा आज संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दैछ। थाइल्यान्डमा जारी प्रतियोगिताको सुपर–३ चरणमा नेपालले आज पहिलो खेल खेल्न लागेको हो।
खेल स्थानीय समयअनुसार बिहान पौने ९ बजे सुरु हुनेछ। यो खेल नेपालका लागि अत्यन्तै निर्णायक मानिन्छ। खेलमा जित निकाले नेपालले आगामी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गर्नेछ। पराजित भएमा भने नेपाल प्रतियोगिताबाट बाहिरिनेछ।
सुपर–३ चरणको खेलहरूमा आयोजक थाइल्यान्डले एक खेल अगावै यूएईलाई ४५ रनले हराउँदै ग्लोबल छनोटमा स्थान सुरक्षित गरिसकेको छ।
यसअघि नेपाल समूह ‘सी’ को विजेता बनेको थियो भने थाइल्यान्ड समूह ‘ए’ र यूएई समूह ‘बी’ का विजेता बनेका थिए।
सुपर–३ चरणमा सहभागी तीन टोली — नेपाल, थाइल्यान्ड र यूएई — ले एकअर्कासँग एक/एक खेल खेल्नेछन्। नेपालले भोलि (सोमबार) थाइल्यान्डसँग प्रतिस्पर्धा गर्ने कार्यक्रम रहेको छ।
सुपर–३ चरणको शीर्ष दुई टोलीले महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछन्। ग्लोबल छनोटमा कुल १० टोली सहभागी हुनेछन्।




