वीरगञ्ज । वीरगञ्जस्थित नरायणी अस्पतालमा नक्कली प्रमाणपत्रको आधारमा जागिर खाइरहेका फिजियोथेरापी डाक्टर ओमप्रकाश साहमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन प्रक्रिया अघि बढाएको श्रोतले जनाएको छ।
प्राप्त जानकारीअनुसार, डाक्टर साहले पेश गरेको फिजियोथेरापी प्रमाणपत्र नक्कली भएको आरोपमा अख्तियारमा उजुरी दर्ता भएको थियो। उजुरी परेपछि करिब दुई महिना अघि अख्तियारले उनको सक्कल प्रमाणपत्र अस्पताल प्रशासनमार्फत माग गरेको थियो।
तर अस्पताल प्रशासनको मिलोमतोमा साहले प्रमाणपत्र अख्तियारमा बुझाउन आलटाल गर्दै आएका थिए। अख्तियारले सोही विषयमा पुनः ताकेता गरेपछि अन्ततः डाक्टर ओमप्रकाश साह आफैँ अख्तियार कार्यालयमा हाजिर भएका छन्।
अख्तियार स्रोतका अनुसार, डाक्टर साहले पेश गरेको शैक्षिक योग्यताको प्रमाणीकरणबारे गम्भीर आशंका उठेकाले थप अनुसन्धान थालिएको छ। यदि प्रमाणपत्र नक्कली ठहरिएमा सरकारी दस्तावेजमा गलत विवरण दिएको र गैरकानुनी रूपमा सरकारी सेवा लिएको आरोपमा कारबाही अघि बढ्नेछ।
नरायणी अस्पताल प्रशासन भने यस विषयमा औपचारिक रूपमा केही प्रतिक्रिया दिन तयार देखिएको छैन।




