रौतहटमा २१ वर्षीया नवविवाहिता सानीया प्रविनको हत्या, गाउँमा तनाव

रौतहट — रौतहटको कटहरिया नगरपालिका–३ बिर्ती प्रष्टोका टोलमा एक दर्दनाक घटना सार्वजनिक भएको छ, जहाँ २१ वर्षीया नवविवाहिता सानिया प्रविनको रहस्यमय मृत्यु भएको छ। मृतकका परिवारले यसलाई आत्महत्या नभई योजनाबद्ध हत्या भएको दाबी गरेका छन्।

सानियाका बुबा रौशनले गरुडा इलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउँदै आफ्नी छोरीको योजनाबद्ध हत्या गरिएको गम्भीर आरोप लगाएका छन्। उनका अनुसार, सानियाको विवाह करिब ६ महिनाअघि भारतको बिहार राज्य, पूर्वी चम्पारणस्थित सुगौली नगरपालिकाका अरमान राय भाटसँग मुस्लिम परम्पराअनुसार सम्पन्न भएको थियो।

विवाहपश्चात निरन्तर दाइजोको माग गर्दै सानिया पतिबाट मात्र होइन, उनकी सासु कायमा खातुनबाट पनि शारीरिक र मानसिक यातना खेप्न बाध्य भएको परिवारको भनाइ छ।

बैशाख २८ गते दिउँसो सानियाको शव घरको कोठामा साडीको पासोमा झुण्डिएको अवस्थामा फेला परेको थियो। तर घटनास्थलको अवस्था, शरीरमा देखिएका चोटपटक र विगतका यातनाका आधारमा यो आत्महत्या नभई योजनाबद्ध हत्या भएको पीडित पक्षको अडान छ।

घटनापछि स्थानीय प्रहरी घटनास्थलमा पुगेको र मुचुल्का तयार पारेर शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल, गौर पठाइएको छ। मृतकका परिवारले दोषीलाई तुरुन्त पक्राउ गरी कडा कानुनी कारबाहीको माग गरेका छन्।

यो घटनाले फेरि एक पटक दाइजोको नाममा महिलामाथि हुने हिंसा र हत्या जस्ता जघन्य अपराधप्रति राज्य र समाजको जिम्मेवारीलाई प्रश्नमा ल्याएको छ। कानुनी संरचना भए पनि कार्यान्वयनको कमजोरीले यस्तो अमानवीय घटना दोहोरिइरहनु दुःखद र चिन्ताजनक विषय हो।

📌 प्रमुख मागहरू:

  • दोषीको तत्काल गिरफ्तारी

  • हत्या सम्बन्धी मुद्दा दर्ता

  • पीडित परिवारलाई न्याय र सुरक्षाको सुनिश्चितता

न्यायका लागि आवाज उठाउनु आजको आवश्यकता हो, किनकि सानियाजस्ता छोरीहरू फेरि नमारिउन्।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः