काठमाडौँ — आँखामुनिको कालो घेरा (डार्क सर्कल) ले अनुहारको सौन्दर्यमा असर पार्छ । यो समस्या थकान, निन्द्रा नपुग्ने, वंशानुगत कारण, प्रदूषण, घामको प्रभाव र अनुहारको बनावटजस्ता विभिन्न कारण देखा पर्छ ।
विशेषगरी नाक चुच्चो र आँखा गाडिएकाहरूमा आँखामुनि रक्तनली जम्मा भई कालो घेरा बन्ने गर्छ । मोबाइल र कम्प्युटरको लामो प्रयोग, पानी कम पिउने, धूम्रपान र कस्मेटिक एलर्जीले पनि यो समस्या निम्त्याउँछ ।
डार्क सर्कलले अनुहारको सौन्दर्यमा असर पार्छ तर सही हेरचाह र उपचारले यो समस्याबाट छुटकारा पाउन सकिन्छ । कारण पहिचान गरी रोकथाम र उपचारमा ध्यान दिनाले दीर्घकालीन समाधान सम्भव छ ।
डार्क सर्कलका कारण
डार्क सर्कल दुई प्रकारका कारणले देखिन्छः रोगजन्य र गैर–रोगजन्य ।
रोगजन्य कारण : थाइराइड, रक्तअल्पता, आँखाको समस्या, चस्माको आवश्यकता र कस्मेटिक एलर्जी ।
गैर–रोगजन्य कारण : वंशानुगत, अनुहारको बनावट (नाक चुच्चो र आँखा गाडिएको), घामको प्रभाव, पानीको कमी, अनिद्रा, पोषणको कमी, धूम्रपान र मोबाइल/कम्प्युटरको अत्यधिक प्रयोग ।
अन्य कारण : पिरियडको समय, मेहन्दी वा केसमा रङ र गाजलको प्रयोग ।
उपचारका विधि
डार्क सर्कलको उपचार गर्नुअघि यसको कारण पत्ता लगाउनु आवश्यक छ । यहाँ केही प्रभावकारी उपचार र सुझावहरू छन् ।
आधारभूत हेरचाह
–पर्याप्त पानी पिउने ।
–घाममा कम हिँड्ने, हिँड्नुपरे सनग्लास, स्कार्फ र छाताको प्रयोग गर्ने ।
–अनुहारलाई सुक्खा हुन नदिन नियमित मोस्चराइजर प्रयोग गर्ने । आँखाका लागि विशेष मोस्चराइजर उपयुक्त हुन्छ ।
चिकित्सकीय उपचार
पिलिङ : खर्च २,०००–३,००० रुपैयाँ । यसले तुरुन्तै नतिजा दिन्छ ।
पिआरपी : ५,०००–६,००० रुपैयाँ ।
डर्मा फिलर : ३०,०००–६०,००० रुपैयाँ लाग्ने यो विधि प्रभावकारी र पीडारहित छ । यो चाइनिज, कोरियन वा अमेरिकन कम्पनीको हुन्छ र १–२ वर्षसम्म टिक्छ ।
अन्य प्रविधि : लेजर थेरापी र हाइफो ।
रोगको उपचार : डार्क सर्कल कुनै रोगका कारण आएको हो भने सम्बन्धित रोगको उपचार गराउनुपर्छ ।
रोकथामका उपाय
–पर्याप्त पानी पिउने र जंक फुडबाट टाढा रहने ।
–ताजा तरकारी र फलफूल सेवन गर्ने ।
–आँखा चिलायो भने कन्याउनुको सट्टा सावधानी अपनाउने ।
–राति सुत्दा सिरानी प्रयोग गर्ने ।
–समयमै सुत्ने र उठ्ने बानी बसाल्ने ।
–आँखा वरिपरि नियमित मसाज गर्ने ।
–कस्मेटिक सामग्रीको कम प्रयोग गर्ने ।
–मोबाइल र कम्प्युटरको प्रयोग सीमित गर्ने ।
–घाममा हिँड्दा सनग्लास, स्कार्फ र छाता प्रयोग गर्ने ।
–नियमित मोस्चराइजर र सनस्क्रिन लगाउने ।
–धूम्रपान र मद्यपान नगर्ने ।




