ओम नेशनल एकेडेमीद्वारा विद्यार्थीका अभिभावकसँग अभेद शुल्क असुली, अभिभावक आक्रोशित, पत्रकारमाथि दुर्व्यवहार

वीरगञ्ज, पर्सा — वीरगञ्ज श्रीपुरस्थित ओम नेशनल एकेडेमीमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूसँग सहमतिभन्दा बढी शुल्क असुल गरिएको खुलासा भएपछि अभिभावकहरू आक्रोशित बनेका छन्।

भर्नाको समयमा रु ६० हजारमा सहमति भए पनि पछिल्लो समयमा रु ९० हजारसम्म शुल्क माग गरिएको भन्दै विद्यालय प्रशासनमाथि कडा आलोचना भइरहेको छ। अभिभावकहरूले यस्तो असमान शुल्क नीतिलाई अनैतिक, अपारदर्शी र गैरकानुनी भएको भन्दै विरोध जनाएका छन्।

विद्यालय प्रशासनले यसबारे हालसम्म कुनै स्पष्ट धारणा सार्वजनिक नगरे पनि निरन्तर अभिभावकीय गुनासोले विद्यालयमा पारदर्शिता र जवाफदेहीप्रति गम्भीर प्रश्न उठाएको छ।

पत्रकारमाथि दुर्व्यवहार, सूचनाको हकमाथि हस्तक्षेपको आरोप

यसैबीच, शुल्क अनियमितताबारे जानकारी लिन विद्यालय पुगेका एक पत्रकारमाथि विद्यालयका डिसिप्लिन इन्चार्जले अपमानजनक व्यवहार गर्दै परिसरबाट बाहिर निकाल्ने धम्की दिएको घटनाले विवाद झनै चर्किएको छ।

सञ्चारमाध्यमप्रति देखाइएको यस्तो व्यवहारले सूचनाको हक र स्वतन्त्र पत्रकारितामाथि हस्तक्षेप भएको भन्दै सञ्चारकर्मी तथा सरोकारवाला पक्षहरू आक्रोशित भएका छन्।

स्थानीय सञ्चारकर्मीहरूले पत्रकारमाथिको दुर्व्यवहारमा संलग्न कर्मचारीमाथि छानबिन गरी आवश्यक कारबाहीको माग गर्दै स्वतन्त्र र निष्पक्ष पत्रकारिता कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरेका छन्।

सुधारको माग, निकायहरूको ध्यानाकर्षण

विद्यालयमा बारम्बार सुनिँदै आएको असमान शुल्क नीति, अनियमितता र जवाफदेहीको अभावप्रति विद्यार्थी तथा अभिभावकहरूले गम्भीर चासो व्यक्त गरिरहेका छन्।

घटनाले ओम नेशनल एकेडेमीमा सुधारका लागि सम्बन्धित निकायहरूको तत्काल ध्यान खिचिएको छ। अभिभावक र सञ्चारकर्मीहरूले समावेशी संवाद, पारदर्शिता र विधिसम्मत शुल्क संरचना कायम गर्न आग्रह गरेका छन्।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः