“गर्भवती महिलामा उच्च रक्तचापको जोखिम बढ्ने यी हुन् मुख्य कारण”

गर्भावस्थामा उच्च रक्तचापले आमा र शिशु दुवैको ज्यान जोखिममा पार्न सक्छ । मोरङ सहकारी अस्पताल विराटनगरमा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. बालकृष्ण साहका अनुसार गर्भावस्थामा देखिने उच्च रक्तचाप (इक्लेम्पसिया) सबैभन्दा जोखिमपूर्ण अवस्था हो । यस्तो अवस्थामा मातृमृत्युको सम्भावना १० प्रतिशतसम्म हुन्छ ।

गर्भावस्थामा उच्च रक्तचाप के हो ?
गर्भावस्थामा २० साता (लगभग ५ महिना) पछि रक्तचाप बढ्ने र प्रसवपछि १२ हप्ताभित्र सामान्य हुने अवस्थालाई ‘प्रिग्नेन्सी इन्डुस्ड हाइपरटेन्सन’ भनिन्छ । यो अवस्थामा रक्तचाप १४०/९० वा सोभन्दा माथि पुग्छ । डा. साहका अनुसार, एक पटकको मापनले मात्र उच्च रक्तचाप पुष्टि हुँदैन । कम्तीमा ४ घण्टाको अन्तरमा दुईपटक रक्तचाप १४०/९० भन्दा माथि देखिएमा यो अवस्था पक्का हुन्छ ।

यस्तो उच्च रक्तचाप शालनाल (प्लासेन्टा) वा गर्भका कारण हुन्छ । यदि रक्तचाप मात्र बढेको छ र अन्य जटिलता छैन भने यसलाई ‘जेस्टेसनल हाइपरटेन्सन’ भनिन्छ । तर, पिसाबमा प्रोटिन देखिएमा ‘प्रि–इक्लेम्पसिया’ र त्यसपछि कम्पन वा बेहोस हुने अवस्था आएमा ‘इक्लेम्पसिया’ हुन्छ, जुन निकै खतरनाक हो ।

जोखिम र तथ्यांक
इक्लेम्पसियाले आमा र शिशु दुवैलाई जोखिममा पार्छ । विश्वमा बर्सेनि करिब ६३ हजार मातृमृत्यु प्रि–इक्लेम्पसिया र इक्लेम्पसियाका कारण हुने गरेको छ । अमेरिकामा ५.६ प्रतिशत, बेलायतमा ११.८ प्रतिशत र भारतमा २३ प्रतिशत मातृमृत्यु इक्लेम्पसियाका कारण हुन्छ । नेपालमा २०७८ को मातृमृत्यु अध्ययनअनुसार १२ प्रतिशत मातृमृत्यु उच्च रक्तचाप र यसको जटिलता (इक्लेम्पसिया) का कारण भएको छ ।

‘गर्भको अवधि ३४ साताभन्दा कम भएमा मातृमृत्युको जोखिम झनै बढ्छ,’ डा. साह भन्छन् । यस्तो अवस्थामा आमाको रक्तचाप नियन्त्रण गर्न र शिशुलाई जोगाउन जटिल उपचार चाहिन्छ ।

जटिलता
उच्च रक्तचापले गर्भवती महिलामा बेहोस हुने, अचेत हुने, रक्तनली संकुचन हुने र मृत्युसम्मको खतरा निम्त्याउँछ । शिशुमा कम तौल, समयअगावै जन्म वा गर्भमै मृत्युको जोखिम हुन्छ । पहिलो गर्भावस्थामा यस्ता जटिलता बढी देखिन्छ ।

समाधान र सावधानी
उच्च रक्तचाप नियन्त्रण गर्न औषधि प्रयोग गरिन्छ । तर, इक्लेम्पसिया भएमा वा औषधिले रक्तचाप नियन्त्रण नभएमा गर्भको अवधि नपुगे पनि शल्यक्रिया (सिजरियन) मार्फत बच्चा जन्माउनुपर्ने हुन सक्छ ।

गर्भावस्था जोखिमपूर्ण हुने भएकाले २० वर्ष नपुगी विवाह र गर्भधारण नगर्न, नियमित गर्भजाँच गर्न र स्वास्थ्य संस्थामा प्रसव गराउन उनले सुझाए । ‘नियमित रक्तचाप जाँच, औषधि सेवन र ३७ साता पुगेपछि जटिलता देखिनुअघि बच्चा जन्माउने तयारी गर्नुपर्छ,’ उनले भने ।

मातृमृत्यु न्यूनीकरणमा सुधार
नेपालमा स्वास्थ्य सेवाको विस्तार, रक्तस्राव व्यवस्थापन, परिवार नियोजन र सुरक्षित प्रसवका कारण मातृमृत्यु दरमा केही कमी आएको छ । तर, उच्च रक्तचाप र इक्लेम्पसिया अझै दोस्रो प्रमुख मातृमृत्युको कारण हो । ‘सचेतना, नियमित स्वास्थ्य जाँच र समयमै उपचारले यो जोखिम कम गर्न सकिन्छ,’ डा. साहको सुझाव छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः