विद्यार्थीको भविष्यमाथि खेलबाड

अहिले सरकार र शिक्षकको चेपुवामा विद्यार्थी परेका छन् । विद्यार्थीको पढ्न पाउने अधिकार शिक्षक र सरकार मिलेर हनन गर्दै छन् । यो सरासर गलत हो । आन्दोलनरत शिक्षक भनिरहेका छन्– ‘हामी कोर्स सक्छौं ।’

कोर्स सक्नु मात्र पढाउनु होइन, कोर्स त पढाउँदै नपढाउँदा पनि दुई महिनामा सकिन्छ । विद्यार्थीले कति बुझे भन्ने प्रमुख विषय हो । यही लापरबाहीकै कारण सरकारी स्कुलको पढाइ खस्कँदो छ ।

वर्षभरि पढाउँदा आधा विद्यार्थी पास गराउन नसक्ने शिक्षकले अब झन् कति विद्यार्थी पास गराउलान् ? सरकारी विद्यालयमा पढाउने कतिपय शिक्षक पढाउनभन्दा बढी राजनीतिमै व्यस्त देखिन्छन् । हाजिर गरेर कहिले के कार्यक्रम भन्यो हिँड्यो, कहिले मिटिङ भन्यो हिँड्यो । यसरी तलब र भत्ता पचाइरहेका शिक्षकले सुविधा पाइनँ भनेर आन्दोलन गर्नुको पनि अर्थ छैन ।

शिक्षक आन्दोलनका नाममा शिक्षकले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न पाइँदैन र सरकारले पनि मेरो गोरुको बाह्रै टक्का भनेर विद्यार्थीको भविष्य अन्योलग्रस्त गर्न पाइँदैन । देशको प्रधानमन्त्री अभिभावक बन्न पर्‍यो । अर्कोतर्फ नयाँ शैक्षिक सत्रको मुखमा आएर विद्यालय नै बन्द गरेर शिक्षक सडकमा ओर्लिनु किमार्थ सुहाउने कुरा होइन । शिक्षक आन्दोलनका विषयमा सत्ता सहयात्री अर्को दल कांग्रेस पनि जिम्मेवार बनोस् । समस्या समाधानमा उसले पनि अग्रसरता देखाओस् ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः