अस्वस्थ हुन सक्छ ‘फिटनेस’को अत्यधिक लत

‘फिट’ हुने इच्छा सामान्य रूपमा शरीर राम्रो बनाउने चाहनाबाट सुरु हुन्छ । तर कहिलेकाहिँ यो चरम तालिम र कडा डाइटमा परिणत हुन्छ, जसले शरीरलाई फाइदाभन्दा नोक्सान पुर्‍याउन सक्छ ।

‘फिटनेस’ भनेको केवल ज्यान घटाउनु मात्र होइन, यो भनेको शरीर, मन र जीवनशैली सन्तुलित हुनु हो । तर आजकाल धेरैले आफ्नो शरीरलाई अत्यधिक थकाउने, आवश्यक खाना नखाने र एक दिन पनि जिम जान पाइएन भने, आफूलाई ठूलो दोषी नै ठान्ने गर्छन् ।

यस्तो सोचाइले विस्तारै शरीरलाई अस्वस्थ बनाउँदै लैजान्छ । स्वास्थ्य सुधार गर्ने नाममा हामीले आफैंलाई नोक्सान पुर्‍याइरहेका हुन्छौं ।

नेपालमा अहिले ‘फिटनेस’को क्रेज बढ्दो छ । हरेक टोलमा जिम सेन्टर खुलेका छन् । यस्तो अवस्थामा हामीले आफूलाई सोध्नुपर्छ, ‘के हामी साँच्चिकै स्वास्थ्य सुधार गरिरहेका छौं कि अवास्तविक सपना पछ्याइरहेका छौं ?’

फिटनेसप्रतिको रुचि र लतमा केही भिन्नता छन् । धेरैजसो मानिसले ‘स्वस्थ हुनु’ को वास्तविक अर्थ बिर्सन्छन् । छिटो नतिजा पाउने चाहनामा धेरैले अत्यधिक डाइट र गाह्रो व्यायाम गर्न थाल्छन् । धेरै व्यक्तिले जति धेरै मेहनत गर्‍यो उति चाँडो प्रगति हुन्छ भन्ने सोच्छन् ।

तर व्यायाम र डाइटसँगै समयको पनि सन्तुलन नहुँदा थकान, निराशा र शरीरिक तथा मानसिक स्वास्थ्यमा असर पुर्‍याउन सक्छ । सामाजिक सञ्जालले सिर्जना गरेका अवास्तविक मापदण्ड पूरा गर्नुपर्ने दबाबले साँच्चिकै प्रतिबद्धता र अस्वस्थ लतको फरक छुट्याउन झनै गाह्रो बनाउँछ ।

‘आइफिट नेपाल’का संस्थापक तथा फिटनेस कोच राजन मुनिकारका अनुसार कुनै कुराको पनि रुचि र लतबीच केही फरक हुन्छ । मुनिकार भन्छन्, ‘धेरैजना स्वास्थ्य सुधार गर्ने सोचले फिटनेस सुरु गर्छन्, तर केही समयपछि उनीहरू खास किसिमको शरीर बनाउन वा अरूसँग प्रतिस्पर्धा गर्न मात्र केन्द्रित हुन्छन् ।’

यस्तो सोचले गलत बानी जन्माउन सक्ने मुनिकारको भनाइ छ । त्यस्तै धेरैलाई स्वस्थ रुचि र अस्वस्थ लतको फरक छुट्याउन गाह्रो पर्छ । स्वास्थ्य सुधार गर्ने क्रममा हामीले आफैंलाई नोक्सान पुर्‍याइरहेका हुन सक्छौं । प्रतिस्पर्धा आफैंमा गलत होइन, तर केमा समर्पित हुँदैछौं भन्ने कुरा बुझ्नु जरुरी भएको उनी बताउँछन् ।

कडा डाइट र कसरतले उल्टो असर गर्न सक्छ, जसले व्यक्तिलाई निराश बनाउँछ र उनीहरू आफ्नै लक्ष्यबाट टाढा जान सक्ने मुनिकार चेतावनी दिन्छन् । ‘हामीलाई सन्तुलन चाहिन्छ, जुन सन्तुलन प्रगतिशील होस्, सरल होस् र धैर्यमा आधारित होस्, सजायमा होइन’, मुनिकार भन्छन् ।

नेपालमा फिटनेसप्रतिको बुझाइमा बिस्तारै भए पनि महत्त्वपूर्ण परिवर्तन देखिएको विज्ञ बताउँछन् । धेरैजना अझै ‘आइडियल’ शरीर बनाउने सोचमा प्रेरित छन् भने, विस्तारै फिटनेसलाई स्वास्थ्यसँग जोडेर बुझ्नेको सङ्ख्या पनि बढ्दो छ । तर केवल नेपालमा मात्रै होइन विश्वभर नै ठूलो संख्यामा मानिसहरू शरीरको बनावटप्रति केन्द्रित छन् । विशेष खालको शरीर बनाउने चाहना फिटनेसको मुख्य प्रेरणा बनेको छ ।

यद्यपि मुनिकार भने सौन्दर्यमा केन्द्रित भएको फिटनेसको सोचले मानिसमा गहिरो रूपमा जरा गाडेर बसेको भए पनि त्यो विस्तारै सन्तुलित जीवनशैलीतर्फ रूपान्तरण हुँदै गएको बताउँछन् । उनी भन्छन्, ‘खासमा आफ्ना महत्वाकांक्षालाई अस्वीकार गर्ने होइन, त्यसलाई नयाँ तरिकाले परिभाषित गर्ने हो । हाम्रो लक्ष्य भनेको सतही चाहनाबाट ध्यान हटाएर सन्तुलित र दीर्घकालीन जीवनशैलीतर्फ मोड्नु हो । फिटनेसप्रति समग्र दृष्टिकोण परिवर्तनको पनि आवश्यकता छ ।’

हिजोआज धेरै मानिस अरुसँग आफूलाई तुलना गर्छन् । धेरैले स्वास्थ्य सुधार गर्ने वा राम्रो देखिने सोचले फिटनेस यात्रा सुरु गर्छन् तर विस्तारै प्रतिस्पर्धात्मक लक्ष्यतर्फ लाग्छन् । आफ्नै अघिल्लो रूपलाई जित्ने अर्थात् अझ ठूलो, पातलो, बलियो वा द्रुत बन्न खोज्न प्रयासरत हुन्छन् । यस्तो सोच देख्नमा त सकारात्मक लाग्न सक्छ,’ मुनिकार भन्छन्, ‘शारीरिक र मानसिक स्वास्थ्य क्षमतालाई बेवास्ता गरेर शरीरलाई धकेल्नु दीर्घकालीन रूपमा नकारात्मक बन्न सक्छ ।’

मानिसहरूले आफ्ना लक्ष्यहरू प्राकृतिक रूपमा हासिल गर्न खोजुन् वा बाह्य सहयोग लिऊन्, स्वास्थ्यमा पर्ने जोखिम उस्तै रहन्छ । कोच मुनिकारकै अनुसार बडीबिल्डिङ प्रतियोगितामा जस्तै, धेरैजसोले कडा डाइट अपनाउने, कठिन रुटिन बनाउने, शरीरलाई डिहाइड्रेट गर्ने र एक्लोपना मनपराउने हुन सक्छ । यी सबै स्वस्थ जीवनशैली होइनन् ।

स्वास्थ्य भन्नाले केवल देखिने शरीर मात्र होइन, मानसिक, सामाजिक र आध्यात्मिक पक्ष पनि समेटिएको हुन्छ । मुनिकार सुझाउँछन्, ‘हामीले सामाजिक सञ्जाल देखिने शरीरलाई आदर्श ठान्न छोड्नुपर्छ । प्रतिस्पर्धी सोच अक्सर लतबाट उत्पन्न हुन्छ र त्यसको सट्टा सन्तुलनमा ध्यान केन्द्रित गर्नुपर्छ । यथार्थपरक, दीर्घकालीन लक्ष्यहरू राखेर समग्र स्वास्थ्य राम्रो बनाउने र खुसी हुनेतर्फ लाग्नुपर्छ ।’

हाम्रो फिटनेस यात्रामा, हामीले आफैंलाई पनि सोध्नुपर्छ, ‘यो रुटिनले मलाई फाइदा दिइरहेको छ, कि दबाव थपिरहेको छ ?’ यस्ता प्रश्नहरूले ठूलो फरक पार्न सक्छ ।

आजको समयमा जहाँ सामाजिक सञ्जालले हरेक पलमा हामीलाई ‘परफेक्ट’ शरीर, कडा वर्कआउट र आदर्श खानपान देखाइरहेको हुन्छ, त्यहाँ तुलना गर्न सजिलो हुन्छ । तर लतभन्दा सन्तुलन रोजेर, हामी फिटनेससँग एक स्वस्थ सम्बन्ध बनाउन सक्छौं । यस्तो स्थितिमा प्रगतिले राम्रो महसुस हुन्छ र हाम्रो समग्र स्वास्थ्य राम्रो बनाउन सहयोग गर्छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः