मोहाली — घरेलु मैदान बाहिर रोयल च्यालेन्जर्स बेङलुरु (आरसीबी) को इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा यो पाँचौं खेल थियो र टोली यसमा शतप्रतिशत विजयी नतिजा निकाल्न सफल भयो । आरसीबीले आइतबार मुल्लानपुरमा पञ्जाब किंग्सलाई ७ विकेटले पराजित गर्यो ।
घरेलु मैदानमा भने आरसीबीले लगातार तीन खेल हारिसकेको छ । पछिल्लो पल्ट टोली बेङलुरुमा ४८ घण्टाअघि मात्र वर्षाले प्रभावित खेलमा पञ्जाबसँगै ५ विकेटको पराजय बेहोरेको थियो ।
विराट कोहलीको अविजित ७३ रनमा ‘रिभर्स फिक्सर’ मा विजय हात पारेपछि आरसीबी तेस्रो स्थानमा उक्लेको छ । गुजरात टाइटन्स, दिल्ली क्यापिटल्स, आरसीबी, पञ्जाब र लखनउ सुपर जायन्ट्सको समान १० अंक छ । नेट रनरेटका आधारमा टोलीहरू क्रमशः पहिलोदेखि पाँचौं स्थानमा छ ।
पञ्जाबले यस खेल जितेको भए शीर्ष स्थानमा पुग्ने मौका रहेको थियो । तर टस हारेर ब्याटिङमा आएको टोलीले घरेलु मैदानमा ७ विकेट गुमाई १ सय ५७ रन मात्र बनाउन सकेको थियो । प्लेयर अफ द म्याच कोहलीले ५४ बल खेली ७ चौका र १ छक्का प्रहार गरेपछि आरसीबीले ७ बल अगाबै लक्ष्य पूरा गरेको थियो । कोहलीले आईपीएल इतिहासमा आफ्नो ६७ औं अर्धशतक बनाएका हुन् ।
फिल सल्ट १ रनमै आउट भएपछि कोहली र देवदूत पाडिकलले दोस्रो विकेटमा १ सय ३ रनको साझेदारी गरेका थिए । ‘इम्प्याक्ट खेलाडी’ को रूपमा आएका पाडिकलले ३५ बल खेली ५ चौका र ४ छक्का प्रहार गरे । कप्तान रजत पटिदार १३ बलमा १२ रनमा आउट भए । जितेश शर्माले ८ बल खेली १ छक्का प्रहार गरी अविजित ११ रन बनाए । पञ्जाबबाट अर्शदीप सिंह, हरप्रित बरार र युजभेन्दर चाहलले १–१ विकेट लिए ।
यसअघि प्रियांश अर्या र प्रभसिमरन सिंहले ४ ओभरमा ४२ रन जोडेर राम्रो सुरुआत दिलाए पनि पञ्जाबले त्यसको फाइदा उठाउन सकेन । देब्रेहाते स्पिनर क्रुनाल पाण्ड्याले दुवैलाई आउट गरी आरसीबीलाई खेलमा फर्काएका थिए । अर्याले १५ बल खेली ३ चौका र १ छक्का प्रहार गरी २२ र प्रभसिमरनले १७ बल खेली ५ चौका र १ छक्का प्रहार गरी ३३ रन बनाए ।
कप्तान श्रेयस ऐर ६ रनमै आउट भए । नेहल बाधेरा ६ रनमा रनआउट हुनु पञ्जाबको दुर्भाग्य बन्यो । जोस इङलिसले १७ बल खेली २ चौका र १ छक्कासहित २९ रन बनाए । मार्कुस स्टोइनिस १ रनमै आउट भए । सशांक सिंह ३३ बल खेली १ चौकासहित ३१ र मार्को यान्सेन २० बल खेली २ छक्का प्रहार गरी २५ रनमा अविजित रहे । क्रुनालले ४ ओभरमा २५ र सुयश शर्माले ४ ओभरमा २६ रन खर्चेर २–२ तथा रोमारिओ सेफर्डले १ विकेट लिए ।
रोहित फर्किए फर्ममा
मुम्बई – रोहित शर्मा र सूर्यकुमार यादवको आक्रामक इनिङ्समा मुम्बई इन्डियन्सले आइतबारको दोस्रो खेलमा चेन्नई सुपर किंग्समाथि ९ विकेटको सानदार विजय हात पार्यो । रोहित र सूर्यकुमारले दोस्रो विकेटका लागि ९ ओभरमै १ सय १४ रनको साझेदारी गरेपछि मुम्बईले वाङखडे रंगशालामा १ सय ७७ रनको लक्ष्य १५.४ ओभरमै पूरा गर्यो ।
रायन रिकेल्टन र रोहितले ६.४ ओभरमा ६३ रन जोडेर मुम्बईलाई तुफानी सुरुआत दिलाएका थिए । रिकेल्टन १९ बल खेली ३ चौका र १ छक्का प्रहार गरी २४ रनमा आउट भए । रोहित ७६ र सूर्यकुमार ६८ रन बनाई अविजित रहे । रोहितले यस सिजनको आईपीएलमा आफ्नो पहिलो अर्धशतक बनाएका हुन् । प्लेयर अफ द म्याच रोहितले ४५ बल खेली ४ चौका र ६ छक्का तथा सूर्यकुमारले ३० बल खेली ६ चौका र ५ छक्का प्रहार गरे ।
यसअघि शिवम दुबे र रवीन्द्र जडेजाको अर्धशतकमा टस हारेर ब्याटिङमा आएको चेन्नईले ५ विकेट गुमाई १ सय ७६ रन बनाएको थियो । जडेजा ३५ बल खेली ५३ रनमा अविजित रहे । उनले ४ चौका र २ छक्का प्रहार गरे । दुबेले ३२ बल खेली २ चौका र ४ छक्का प्रहार गरी ५० रन बनाए । ओपनरद्वय साइक रशिद १९ र रचिन रवीन्द्र ५ रनमा आउट भए ।
‘डेब्यु’ गरिरहेका १७ वर्षे आयुष महात्रेले सबैको ध्यान तान्न सफल भए । उनले १५ बल खेली ४ चौका र २ छक्का प्रहार गरी ३२ रन बनाए । कप्तान महेन्द्रसिंह धोनीले ४ रनमात्र बनाउन सके । मुम्बईका जस्प्रित बुमराहले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । दीपक चहार, अश्वानी कुमार र मिचेल सान्टनरले १–१ विकेट लिए । ८ खेलमा मुम्बईको यो चौथो जित हो । चेन्नईले भने ८ खेलमा छैटौं हार बेहोरेको हो । यसले चेन्नईको प्ले अफमा पुग्ने सम्भावनालाई निकै कमजोर बनाएको छ ।




