वीरगञ्ज । हनुमान जयन्तीको शोभायात्राका क्रममा हिन्दुवादी युवाहरू पक्राउ परेपछि सुरु भएको तनाव वीरगञ्जमा आज पनि यथावत रहेको छ। परिस्थितिको चापलाई मध्यनजर गर्दै आज बिहान सुरक्षाका तीनै अंगका प्रमुखहरू स्वयं वीरगञ्जको सडकमा निगरानीमा खटिएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्र, प्रमुख जिल्ला अधिकारी गणेश रेग्मी र सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले आज बिहान वीरगञ्जको मुख्य सडक क्षेत्रमा सुरक्षा अवस्था अवलोकन गरेका हुन्।

हिन्दुवादी युवाहरू पक्राउको विरोधमा परवानीपुर, प्रतिमा चौक, नेशनल ट्रेडिङ, घण्टाघर नजिक, घडिर्अवा पोखरी अगाडीलगायत स्थानहरूमा टायर बाल्दै प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूले “हिन्दूमाथि अन्याय बन्द गर”, “समान व्यवहार गर” लगायतका नारा लगाउँदै प्रहरी प्रशासनप्रति असन्तुष्टि जनाएका थिए।
टायर बालिएका कारण केहीबेर यातायात सेवा अवरुद्ध भएको थियो। यद्यपि, स्थिति नियन्त्रणमा लिन पर्सा प्रहरीले क्षेत्रभर सुरक्षालाई थप कडा बनाएको जनाएको छ।




