वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद प्रदीप यादवले वीरगञ्जमा हालै दुई समुदायबीच देखिएको तनावबारे पाँच दिनपछि सार्वजनिक रूपमा फेसबुकमार्फत वीरगञ्जबासीलाई संयमता अपनाउन अपिल गरेका छन्।
सांसद यादवले वीरगञ्जको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सद्भावपूर्ण वातावरणलाई बचाइराख्न सबैलाई संयमित बन्न आग्रह गरेका हुन्। उनले वीरगञ्जलाई “साझा फुलवारी” को संज्ञा दिँदै यहाँको शान्ति, सद्भाव र मेलमिलाप सबै नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गरेका छन्।
यादवले हाल देखिएको तनावपूर्ण अवस्थालाई संवादमार्फत समाधान गर्न स्थानीय प्रशासन र प्रहरीसँग निरन्तर सम्पर्कमा रहेको र विभिन्न समुदायका अगुवासँग पनि समन्वय र सल्लाह जारी रहेको जनाएका छन्।
उनले शान्ति खलल पुर्याउने, उत्तेजक अभिव्यक्ति दिने, सम्पत्ति तोडफोड गर्ने तथा आगजनी गर्ने जोकोहीलाई कानूनअनुसार कारबाही हुनु पर्नेमा जोड दिएका छन्।
सांसद यादवले प्रचारबाजी भन्दा नेपथ्यबाट गम्भीर प्रयास र समन्वयमार्फत शान्ति स्थापना गर्नु पर्ने धारणा राख्दै वीरगञ्ज चाँडै आफ्नो पुरानै लयमा फर्किने विश्वास व्यक्त गरेका छन्।





