वीरगञ्ज- वीरगञ्जको स्थिति अहिलेसम्म पनि सामान्य बन्न सकेको छैन। शनिवार साँझदेखि जिल्ला प्रशासन कार्यालय पर्साले लगाएको कर्फ्यू अहिलेसम्म पनि जारी छ।
आज दिउँसो १२ बजेसम्मका लागि लगाइएको कर्फ्यू दिनभर लगाउने कुरा भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
कर्फ्यु लगाइएपछि अहिले सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ।

शनिवार हनुमान जयन्तिको शोभा यात्रा गर्ने क्रममा दुई समूहबीचको झडप नियन्त्रणमा लिन प्रहरीले लाठी चार्जका साथै अश्रु ग्यास र हवाई फायरपनि प्रहार गरेको थियो । छपकैयाको इदगाह चोकमा शनिबार बेलुकी ८ बजेसम्म पनि प्रहरी र स्थानीयबीच झडप चलिरहेकोपछि नेपाली सेना परिचालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

शनिबार बेलुकी ८ बजेसमम प्रहरीले दुई राउण्ड हवाई फायर र १ सय ३० राउण्ड अश्रु ग्यास प्रहार गरेको प्रमुख जिल्ला अर्याललले बताए ।
उनका अनुसार शनिबार अपरान्हदेखि भएको झडपका क्रममा प्रहरी र स्थानीय गरी ४० जना घाइते भएका छन् । प्रहरी तर्फ पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रसिंह सहित २५ जना प्रहरी घाइते भएको अर्यालले जानकारी दिए ।
प्रदर्शनकारीतर्फ पनि शनिबार बेलुकीसम्म १५ जना घाइते भएको उनले बताए । घाइतेहरूको नारायणी अस्पताल र अन्य अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए।





