वीरगञ्ज । वीरगञ्जस्थित ऐतिहासिक महावीर मन्दिरमा आज साँझ ६ बजे हनुमान जयन्तीको पावन अवसरमा भव्य महाआरती कार्यक्रम आयोजना हुने भएको छ।
हर वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने हनुमान जयन्तीको अवसरमा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता रहने गर्दछ। यस वर्ष पनि महावीर मन्दिर व्यवस्थापन समितिले विशेष तयारीसहित आरतीको आयोजना गर्न लागेको हो।
मन्दिर परिसर रंगीचंगी बत्ती, पुष्प सजावट र धार्मिक ध्वनीसहित आकर्षक रूपमा सजाइएको छ। महाआरतीमा स्थानीय साधुसन्त, भक्तजन, समाजसेवी तथा जनप्रतिनिधिहरूको समेत उपस्थित रहने अपेक्षा गरिएको छ।
मन्दिर व्यवस्थापन समितिका एक सदस्यले जानकारी दिँदै भने, “हनुमान जयन्ती हाम्रो धार्मिक आस्था र परम्पराको प्रतीक हो। आजको महाआरती कार्यक्रममा सबै श्रद्धालुहरूलाई सहभागी हुन हार्दिक आमन्त्रण गर्दछौं।”
साँझ ६ बजेबाट सुरु हुने महाआरतीमा विशेष पुजा, भजन, संकीर्तन र प्रसाद वितरणको पनि व्यवस्था गरिएको छ।
श्रद्धालु भक्तजनहरूले आरतीमा सहभागी भई संकटमोचन हनुमानजीबाट आशीर्वाद प्राप्त गर्न सक्नेछन्।




