
काठमाडौँ । नेपाल हङकङमा जारी चार देशीय टी–२० क्रिकेट श्रृंखलाको फाइनलमा पुगेको छ । लगातार दोस्रो जित हासिल गर्दै नेपाल एक खेलअघि नै फाइनलमा पुगेको हो । पहिलो खेलमा कतारलाई ८ विकेटले हराएको नेपालले दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गर्यो ।
नेपालले जितका लागि १८६ रनको चुनौती १८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । नेपाललाई जिताउन अलराउन्डर कुशल भुर्तेलले ५० बलमा ८१ रन जोडे ।
त्यस्तै पहिलो विकेटका लागि कुशलसँग १२७ रनको साझेदारी गर्ने क्रममा आसिफ शेखले ३८ बलमा ५३ रन बनाए ।
त्यस्तै दिपेन्द्र सिंह ऐरीले १२ बलमा ३१ रन जोडे । गुल्सन झाले ३ बलमा अविजित रहँदै ९ रन बनाए ।
यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८५ रन बनायो ।
कुवेतका लागि क्लिन्टो एन्टोले ३० बलमा ४१, मिट भाब्सरले २८ बलमा ३५ तथा बिलाल ताहिरले १३ बलमा ३२ रन बनाए ।
नेपालका लागि सोमपाल कामीले ३६ रन खर्चेर ३, नन्दन यादवले ३४ रन खर्चेर २ तथा ललित राजवंशी र कुशल भुर्तेलले समान १–१ विकेट लिए ।
पहिलो खेलः हङकङमाथि ८ विकेटको जित
नेपालले बुधबार बिहान भएको पहिलो खेलमा कतारमाथि ८ विकेटको शानदार जित हासिल गरेको हो ।
आक्रामक ब्याटिङ गरेको नेपालले एक सय ५२ रनको चुनौती मात्र १७ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको हो ।
पहिलो विकेटका लागि ८१ रनको साझेदारी गर्ने क्रममा कुशल भुर्तेलले १९ बलमा ३८ तथा आसिफ शेखले २१ बलमा ३३ रन बनाए ।
त्यस्तै तेस्रो विकेटका लागि ६२ रनको साझेदारी गर्ने क्रममा कप्तान रोहित पौडेलले २९ बलमा अविजित रहँदै ३७ तथा बसिर अहमदले ३३ बलमा अविजित रहँदै ३० रन बनाए ।
दुवै विकेट मुजिब उर रहमानले लिएका हुन् । यसअघि हङकङको मोङककमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेसँगै पहिले ब्याटिङ गरेको कतारले ५ विकेटको क्षतिमा १५१ रन बनायो ।
कप्तान इक्रामुल्लाह खानले ५४ बलमा ५४ बनाए । नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्सन झा र ललित राववंशीले १–१ विकेट लिए ।
अंक तालिका
चार दशीय प्रतियोगितामा नेपाल, कतार, कुवेत र हङकङ रहेका छन् । नेपाल अंक तालिकाको शीर्ष स्थानमा छ । नेपालले खेलेका दुवै खेल जितेको छ । पहिलो खेलमा कुवेतले हङकङलाई ४ विकेटले पराजित गरेको थियो ।
कुवेत दोस्रो, हङकङ तेस्रो तथा कतार चौथो स्थानमा छ ।
नेपालले शनिबार हङकङसँग खेल्नेछ । अंक तालिकाको शीर्ष दुईमा रहने टोलीले आइतबार फाइनल खेल्नेछ । तेस्रो र चौथो हुने टिमले तेस्रो स्थानका लागि आइतबारै खेल्नेछ ।




