मधेसमा चैती छठ पर्वको उल्लास, अस्ताउँदो सूर्यलाई अर्घ प्रदान


वीरगञ्ज ।
 मधेस प्रदेशका विभिन्न जिल्लामा आज चैती छठ पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै छ। भोली बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर चारदिने कठोर व्रत समाप्त गरिने छ।

चैती छठ पर्वको अवसरमा वीरगञ्जको घडिअर्वा पोखरी, जनकपुरधामको गंगासागर लगायतका पोखरीहरू विशेष रूपमा सजाइएका छन्। व्रतालुहरू आस्था र श्रद्धासहित सूर्यदेवको पूजा आराधना गर्दै अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्न पोखरीहरूमा भेला भएका छन्।

छठीमाताको व्रतको विशेषता
छठ पर्व मधेस प्रदेशमा विशेष महत्वका साथ मनाइन्छ। वर्षको दुई पटक-कार्तिक र चैत्र महिनामा-मनाइने यस पर्वलाई क्रमशः शारदीय र वासन्तिक छठ भनिन्छ। कठोर व्रत पालना गरिने यो पर्वमा मनोकामना पूरा हुने, चर्मरोग निको हुने, सन्तान प्राप्ति हुने र परिवारमा खुसीयाली ल्याउने विश्वास गरिन्छ।

वीरगञ्ज माइस्थानकी किरण देवी विगत आठ वर्षदेखि छठ व्रत बस्दै आएकी छन्। उनले सासुआमाको बिडो थाम्दै हरेक मनोकामना पूरा हुने विश्वासले चैती छठको व्रत बस्दै आएको बताइन्।

व्रतको विधि र अनुशासन
चैती छठ पर्वको पहिलो दिन चतुर्थी तिथिमा “नहाए खाए” गरिन्छ। यस दिन ब्रतालुहरू बिहान स्नान गरी शुद्ध सात्विक भोजन ग्रहण गर्छन्। भोजनमा लसुन, प्याज वर्जित हुन्छ भने भात पकाउन अगहनी धानको चामल मात्र प्रयोग गरिन्छ।

पञ्चमीका दिन ब्रतालुहरूले दिनभरि निराहार व्रत बस्छन्। बेलुकी माटोको चुल्होमा काठको दाउरा बालेर सख्खर, चामल र गहुँको पिठोबाट तयार गरिएको “रसियाव-रोटी” पकाइन्छ। यसलाई पूजा गरेर परिवारका सदस्यलाई प्रसादका रूपमा बाँडिन्छ।

कार्तिक महिनाको छठ झैं चैती छठमा पनि सूर्यदेवको पूजा गरी अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिइन्छ। चैती छठमा व्रतालुहरूको संख्या कार्तिकको तुलनामा कम भए तापनि आस्थामा कुनै कमी छैन।

चैती छठको विशेषता
कार्तिक छठ उत्सवमय वातावरणमा मनाइए पनि छठ व्रतलाई कठोर तपस्याको रूपमा लिइन्छ। चैती छठमा तामझाम कम हुने भएकाले भक्तजनहरूको भीड पनि कम देखिन्छ।

मधेस प्रदेशका विभिन्न जिल्लामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि भोली बिहान उदाउँदो सूर्यलाई अर्घ दिई चारदिने छठ पर्व समापन गरिने छ। व्रतालुहरूको मनोकामना पूरा होस् भनी परिवारजन, आफन्त र समुदायका सदस्यहरूले शुभकामना व्यक्त गरेका छन्।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः