
डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना बुधबार विश्वकप २०२६ मा छनोट हुने दोस्रो टिम भएको छ । अर्जेन्टिनाले ब्युनर्स आयर्समा भएको खेलमा ब्राजिललाई ४–१ ले हराएपछि विश्वकपमा छनोटको खुसीयाली मनाएको हो ।
यो खेल अगाडि नै अर्जेन्टिनाको छनोट औपचारिकता पूरा भइसकेको थियो ।
अर्जेन्टिना लियोनल मेसी विना मैदानमा उत्रेको थियो । मेसी चोटग्रस्त छन् । यसअघि बुधबारको अर्को खेलमा उरुग्वे बोलिभियाको हातबाट गोलरहित बराबरीमा रोकिएपछि अर्जेन्टिना दक्षिण अमेरिकाबाट विश्वकपमा छनोट हुने पहिलो टिम बनेको थियो ।
यो जितमा अर्जेन्टिनाका लागि जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक एलिस्टर र जियोभानी सिमोनीले गोल गरे । ब्राजिलबाट सम्भव भएको एक मात्र सान्त्वना गोल म्याथेस कुन्हाको नाममा रह्यो ।
बुधबारका अन्य खेलमा भेनेजेएलाले पेरुलाई १–० ले हरायो भने चिली र इक्वेडेरले गोलरहित बराबरी खेले । यस्तै कोलम्बिया र पाराग्वेले २–२ को बराबरी खेले ।




