चेन्नईको विजयी सुरुआत

चेन्नई — दुई देब्रेहाते बलर नूर अहमद र खलिल अहमदको उत्कृष्ट बलिङमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग क्रिकेटमा आइतबार मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गर्‍यो । अफगानिस्तानका स्पिनर अहमदले ४ र तीव्र बलर अहमदले ३ विकेट लिएपछि मुम्बईले ९ विकेट गुमाई १ सय ५५ रनमात्र बनाउन सकेको थियो ।

तल्लोक्रममा दीपक चाहारले १५ बलमा समान २ चौका र छक्कासहित २८ रन बनाएपछि मात्र मुम्बईको स्कोर हेर्न लायक बन्यो । खलिलले खेलको चौथो बलमा रोहित शर्मालाई शून्यमा आउट गरी चेन्नईलाई सनसनी सुरुआत दिलाए ।

रायन रिकेल्टन १३ र विल ज्याक्स ११ रनमा आउट भएपछि मुम्बई पाँचौं ओभरमा ३६–३ को स्थितिमा पुगेको थियो । कप्तान सूर्यकुमार यादव २६ बलमा २९, तिलक बर्मा २५ बलमा ३१, रोबिन मिन्ज ३, नमन धिर १७ र मिचेल सान्टनर ११ रनमा आउट भए । अहमदले ४ ओभरमा १८ र खलिलले ४ ओभरमा २९ रन खर्चे । नथान इलिस र रविचन्द्रन अश्विनले १–१ विकेट लिए ।

ओपनर रचिन रवीन्द्र र कप्तान रुतुराज गायकवडले अर्धशतक रन बनाएपछि चेन्नईले ५ बल अगाडि नै १ सय ५८ रन बनायो । अन्तिम ओभरमा विजयका लागि ४ रन चाहिने अवस्थामा रवीन्द्रले सान्टनरको बलमा छक्का प्रहार गरेका थिए । जिम्मेवारी इनिङ्स खेलेका उनले ४५ बल खेलि २ चौका र ४ छक्कासहित अविजित ६५ रन बनाए ।

गायकवडले २६ बल खेलि ६ चौका र ३ छक्कासहित ५३ रन बनाए । राहुल त्रिपाठी २ रनमै आउट भए पनि गायकवड र रवीन्द्रले ३७ बलमा ६७ रन जोडे । भिग्नेस पुठुरले गायकवडसहित शिवम दुबे (९) र दीपक हुडा (३) लाई आउट गरी मुम्बईलाई खेलमा फर्काउने प्रयास गरे । साम करन ४ रनमा बोल्ड भए । रवीन्द्र जडेजा १७ रनमा रनआउट भए ।

हैदराबादको फर्म उस्तै

इशान किसनको अविजित शतकको मद्दतले सनराइज हैदराबादले आइतबार भएको पहिलो खेलमा राजस्थान रोयल्सलाई ४४ रनले पराजित गरेको थियो । गत वर्ष फाइनलमा पुग्नेक्रममा हैदराबादले जुन ब्याटिङ शक्ति देखाएको थियो, त्यसलाई पनि निरन्तरता दिँदै टोलीले आफ्नो पहिलो खेलमै विशाल स्कोर बनाएको हो ।

हैदराबादले ६ विकेट गुमाएर २ सय ८६ रन बनायो, जुन आईपीएल इतिहासको दोस्रो उच्च स्कोर हो । गतवर्ष हैदराबादले नै रोयल च्यालेन्जर बेङलुरुविरुद्ध बनाएको २ सय ८७ रनभन्दा १ रनले मात्र पछाडि रहयो । त्यसमा किसनले ४७ बलमा १ सय ६ रन बनाए । त्यसको जवाफमा राजस्थानले छ विकेट गुमाएर २ सय ४२ रन मात्र बनाउन सक्यो । यो खेल इंग्लिस बलर जोफ्रा आर्चरका लागि सर्वथा बिर्सनलायक रह्यो ।

उनले बिना कुनै विकेट चार ओभरमा ७६ रन खर्चन पुगे र यो आईपीएल इतिहासमै सबैभन्दा खर्लिलो बलिङ प्रदर्शन रह्यो । यसअघि मोहित शर्माले गुजरात टाइटन्सबाट खेल्दै दिल्ली क्यापिटल्सविरुद्ध ७३ रन दिएका थिए । ‘प्लेयर अफ द म्याच’ किसनले आक्रामक इनिङ्समा ११ चौका र ६ छक्का प्रहार गर्न सफल रहे । मुम्बई इन्डियन्स छाडेर हैदराबाद आएयता पहिलो खेलमै उनी आफ्नो पहिलो आईपीएल शतक बनाउन सफल रहे । राजस्थानका लागि अस्ट्रेलियाली ओपनर ट्रेभिस हेडले पनि ३१ बलमा ६७ रन बनाए र ९ चौका र ३ छक्का निस्केको थियो ।

राजस्थानका लागि कसैले पनि निर्णायक सावित इनिङ्स खेल्न सकेनन् । राजस्थानले ५० रन बनाउँदासम्म तीन विकेट गुमाएको अवस्थालाई भने सुधार गरेको थियो । सन्जु सामसन र ध्रुव जुरेलले चौथो विकेटमा १ सय ११ रनको साझेदारी गरे । ओपनर तथा कप्तान सामसनले ६६ रन बनाए । उनले ३७ बलमा ७ चौका र ४ छक्का प्रहार गरे । यस्तै जुरेलले ३५ बलमा ७० रन बनाए । त्यसमा भने ५ चौका र ६ छक्का सामेल थियो ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः