
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई गोरखपुरमा गुपचुप भेटेर प्रदेशको गरिमा र देशका विदेश नीतिको उल्लंघन गरेका छन् ।
मुख्यमन्त्री सिंह बिना निम्तो उत्तर प्रदेशमा गएका छन् । उनी गत मंसिरमा विश्वहिन्दू परिषद् धनुषा जिल्लाले अयोध्या पठाएको भारको पछि लागेर गएका थिए । त्यसमा पनि उनलाई आमन्त्रण गरिएको थिएन् । देशमा राजतन्त्र र हिन्दू राष्ट्रको विषयमा व्यवस्था नै फेरिन सक्ने बहस चलिरहेको बेला योगी आदित्यनाथको फोटो सहित भएको जुलुसले राष्ट्रिय राजनीति नै तरंगित भइरहेको बेला मुख्यमन्त्री सिंहले देश र प्रदेशको मर्यादालाई उल्लंघन गर्दै भेटेका छन् ।
मुख्यमन्त्री सिंहले गरेको भेटलाई उनले आफ् नो सामाजिक सञ्जाल मार्फत पुष्टि गरेका छन् । तर उनले नेपाल अथवा भारतको कुन भूभागमा कति बजे भेट भएको उल्लेख गरेका छैनन् । रामायाण सर्किट र सीता सर्किटको विकास, अयोध्यामा रामललाको दर्शन गर्न पुग्नेहरुका लागि जनकपुरधाम अनिवार्य गन्तव्य स्थल हुनुपर्ने लगायतका विषयमा छलफल भएको सिंहले जनाएका छन् ।
मुख्यमन्त्री सिंहले मधेश प्रदेशको धार्मिक पर्यटन प्रवद्र्धनका लागि उत्तर प्रदेश सरकारको सहयोगलगायतका विषयमा अत्यन्त सकारात्मक कुराकानी भएको दाबी गरेका छन् । उनले मधेश प्रदेशको पर्यटन प्रवद्र्धनका लागि उत्तर प्रदेश सरकारसित गरेको पहल सकारात्मक रहेको सिंहको सामाजिक सञ्जालमा अधिकांश प्रतिक्रिया जनाइएको छ । तर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता समेत रहेका मधेश प्रदेशका सभासद जितेन्द्र सोनलले मुख्यमन्त्री सिंह देश बाहिर जानुपर्दा संघीय सरकारको अनिवार्य स्वीकृति र प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णय हुनुपर्ने बताएका छन् ।
‘मुख्यमन्त्री बिना आमन्त्रण भारतको उत्तर प्रदेशमा औपचारिक रुपमा अथवा गुपचुप जान मिल्दैन’ उनले भने, उत्तरप्रदेशका मुख्यमन्त्री भारतीय राजनीतिमा प्रभावशाली भए पनि मधेश प्रदेशका मुख्यमन्त्री सिंहको समकक्षी हुन् भने ज्ञात नरहेको देखिन्छ । ‘मुख्यमन्त्री सिंहले गुपचुप रुपमा गरेको भेटेले औपचारिक रुपमा कुनै अर्थ राख्दैन’ सोनलले भने, औपचारिक रुपमा संवाद भए मात्र त्यसले दुई प्रदेशबीच सहमति र सम्झौता भइ त्यसको दुवै सरकारले कार्यान्वयन गर्ने मार्ग खुल्ने छ ।
पूर्वमुख्यमन्त्री समेत रहेका जनता समाजवादी पार्टी(जसपा) नेपाल संसदीय दलका नेता सरोज कुमार यादवले निजी प्रयोजन बाहेक भारत भ्रमणमा मुख्यमन्त्री जानुपर्दा प्रदेशमा निमित्त मुख्यमन्त्री तोक्नुपर्ने बताएका छन् । ‘मुख्यमन्त्री सिंहले भारतको औपचारिक र अनौपचारिक भ्रमणमा जान सक्छन् ’ उनले भने, तर दुई देशबीचको विषय भएकाले नेपालको कानुन र प्रदेशको मर्यादालाई पूर्ण रुपमा पालना गर्नुपर्छ । ‘भारतको गोरखपुर अथवा अन्य स्थलमा उत्तर प्रदेशको मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेका उनी स्वयंले सार्वजनिक गरेका छन्’ उनले भने, ‘औपचारिक रुपमा भ्रमणमा गए मात्र त्यसको सरकारी महत्व हुन्छ ।’
नेपालमा हिन्दू राष्ट्र र राजतन्त्रको पक्षमा भइरहेको आन्दोलनमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको गहिरो चासो रहेको बताइन्छ । उनले विगतमा हिन्दू राष्ट्र नेपालको पक्षमा सार्वजनिक रुपमा नै बयान दिएका हुन् । नेकपा एमालेले राजावादीहरु भारतको उक्साहटमा सक्रिय हुन थालेको सचिवालयबाट निर्णय नै गरेको छ ।
मधेश प्रदेशमा एमालेको समर्थनमा सरकार छ । देशमा व्यवस्था नै परिवर्तन गर्ने राजावादीको विश्वास रहेको बेला मुख्यमन्त्री सिंहले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई भेटनु अर्थपूर्ण रहेको विश्लेषण गरिएको छ । मुख्यमन्त्री सिंहको गुपचुप भ्रमणबारे जनमत पार्टी र संघीय सरकारबाट कुनै प्रतिक्रिया जनाइएको छैन ।
तर आइतबारको मधेश प्रदेश सभा बैठकमा मुख्यमन्त्री सिंहको गुपचुप भेटबारे विपक्षी दलहरुले प्रश्न उठाउने भएका छन् । देश र प्रदेशको मर्यादा विपरीतका गतिविधि मुख्यमन्त्री सिंहले गरेको उनीहरुको आरोप छ । मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमा फोटो र धार्मिक पर्यटन प्रवद्र्धनबारे भएको सकारात्मक छलफल बाहेकको थप प्रतिक्रिया जनाएका छैनन् ।




