एपीएफ र कर्णालीको चौथो जित

तिलोत्तमा — सन्दीप जोराको अर्धशतकप्रेरित नेपाल एपीएफ क्लबले भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गर्‍यो । छैटौं खेलमा एपीएफको यो चौथो जित हो । सुदूरपश्चिम ४ अंकसहित तालिकाको छैटौं स्थानमा छ ।

टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेश ४८.५ ओभरमा १ सय ९१ रनमा अलआउट भयो । निश्चल क्षेत्रीले ५७ रन बनाए । उनले ९२ बल खेल्दै ८ चौका र १ छक्का प्रहार गरे । ओपनर प्रकाश पाण्डे ४२ रनमा रनआउट भए । किरण ठगुन्ना १२, सुनिल चन्द र हेमन्त धामीले १०–१० तथा शेर मल्ल ११ रनमा आउट भए । एपीएफका कप्तान रोहित पौडेल र अमर राउटेलाले ३–३, भुवन कार्कीले २ र अभिषेक गौतमले १ विकेट लिए ।

एपीएफले ३६.३ ओभरमा लक्ष्य पूरा गर्‍यो । सन्दीप जोराले ६८ बल खेल्दै ५ चौका प्रहार गर्दै ५१ रन बनाए । आसिफ शेख ३२, ओपनर लोकेश बम १९, दीपक बोहरा १६, रोहित १४, सुमित महर्जन १२ रनमा आउट भए । भुवनले अविजित १४ रन बनाएर एपीएफलाई विजयको बाटो देखाए । सुदूरपश्चिमका शेर मल्ल, विकास आग्री र नारायण जोशीले २–२ विकेट लिए ।

दीपेन्द्र रावतको अलराउन्ड प्रदर्शनमा कर्णाली प्रदेशले तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल मैदानमा मधेश प्रदेशलाई ८१ रनले पराजित गरेको थियो । कर्णालीले लगातार तेस्रो जित हात पार्दै ८ अंक बनाएको छ । कर्णालीले ७ खेलबाट ४ मा जित र तीनमा हार बेहार्दै चौथो स्थानमा उक्लिएको छ । मधेश ६ खेलबाट ४ अंकसहित तालिकाको सातौं स्थानमा झरेको छ ।

यसअघि टस जितेर ब्याटिङ गरेको कर्णाली ४९.१ ओभरमा २ सय २० रन बनाएर अलआउट थियो । दीपेन्द्रले ६१ रनको योगदान गरे । प्लेयर अफ द म्याच उनले ९२ बल खेल्दै ६ चौका प्रहार गरे । अर्जुन घर्तीले २० बलमा २ चौका र १ छ्रक्कासहित २६, दिनेश अधिकारीले २४, प्रकाश जैसीले २० र कप्तान दिवान पुनले अविजित १८ रन बनाए । मधेशका रुपेश सिंह, रञ्जित कुमार, हरिशंकर साह, कमल गुप्ता र कप्तान अनिल साहले २–२ विकेट लिए ।

जवाफमा मधेश ३५.२ ओभरमा १ सय ३९ रनमै समेटियो । रुपेश सिंहले बनाएको ३० रन नै व्यक्तिगत ठूलो स्कोर बन्यो । उनले ५३ बल खेल्दै ३ चौका प्रहार गरे । विशाल पटेलले २५, हरिशंकरले १८ र शैलेन्द्र साहले १० रन बनाए । कप्तान अनिल ५ रनमा आउट भए । कर्णालीका दिनेश अधिकारीले ४ विकेट लिए । उनले १० ओभरमा ४१ रन खर्चिए । दीपेन्द्रले ३, प्रकाशले २ र सुनिल धमलाले १ विकेट लिएका थिए ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः