
- नेपालले सिंगापुरविरुद्ध नखेलेको ३६ वर्ष भइसकेको छ, यिनै दुई टिम शुक्रबार सिंगापुरमा भिड्दै छन्
काठमाडौँ — अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि सिंगापुर पुरानो प्रतिद्वन्द्वीमध्ये एक हो । तर नेपालले सिंगापुरविरुद्ध नखेलेको पनि ३६ वर्ष भइसकेको छ । यिनै दुई टिम शुक्रबार सिंगापुरमा भिड्दै छन्, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको अवसर जुराएर । इतिहास भने नेपालको पक्षमा रहेको छैन । त्यसैले टिमले त्यसलाई बिर्सेर प्रदर्शन गरे नै राम्रो हुनेछ ।
नेपालका नयाँ मुख्य प्रशिक्षक म्याट रसले दोहोर्याएर नेपाली टिम र खेलाडीको उच्च प्रशंसा गरिरहँदा साँच्चै वास्तविकता के हो, त्यो खेलबाट थाहा हुनेछ ।
एसिया कप छनोटको तयारीमा रहेका दुवै टिमका लागि यो टिमको वास्तविक संरचना तयार पार्न ठोस अवसर हुनेछ यो । रसको नेतृत्वमा टिमले खेल्न लागेको पहिलो खेल पनि हुनेछ । बिहीबार प्रि–म्याच कन्फ्रेन्समा अस्ट्रेलियाली प्रशिक्षक रसले भनेका छन्, ‘एसिया कप छनोटको ठीक अगाडि यो निकै उपयुक्त अवसरका रूपमा आएको छ । टिममा के कस्ता समस्या छन् र तिनलाई कसरी समाधान गर्न सकिन्छ, यो सबै यही खेलबाट थाहा हुनेछ ।’
रस मान्छन्, नेपाल टिम कहाँनिर छ, त्यो यो खेलबाट थाहा हुनेछ । दक्षिण एसियाली टिमका रूपमा दक्षिण पूर्वी देशको सामना गर्नु पाउनु उनी राम्रो अवसर मान्छन् । उनले मिडियासामु भनेका छन्, ‘हामीले दुई साताको मात्र प्रशिक्षण अवसर पाएका छौं र यो पर्याप्त होइन । त्यसैले केही हदसम्म हामी सचेत भएर खेल्नेछौं ।’ काठमाडौं छँदै उनले नेपाली टिमबाट सकारात्मक र आक्रामक फुटबलको अपेक्षा गर्न भनेका थिए । उनी चाहन्छन्, टिममा केही प्रयोगको अवसर पनि बनोस् ।
सिंगापुर पुगेपछि नेपालले अभ्यासको उपयुक्त अवसर भने पाएको छैन । सिंगापुरमा पानी परिरहेको हुनाले अभ्यासमा व्यवधान पुगेको जनाइएको छ । त्यसैले टिमले हल्का अभ्यास मात्र गरेको छ । प्रशिक्षक रस आफैं आफ्नो भूमिकाका लागि पनि उत्साही छन् । प्रशिक्षण जीवनमा लामो समय बिताइसकेका रसले कुनै पनि राष्ट्रिय टिम सम्हालेको यो नै पहिलो पटक हुनेछ । त्यसैले उनले दोहोर्याएर भनिरहेका छन्, ‘म निकै उत्साही छु । म गर्व पनि महसुस गरिरहेको छु ।’
सम्भवतः उनले सिंगापुरविरुद्ध सुरुमा टिममा उपलब्धि उत्कृष्ट ११ नै उतार्ने छन् । त्यसपछि भने उनीसामु युवा तथा नयाँ खेलाडीलाई अवसर दिने राम्रो मौका हुनेछ । त्यसैले उनी टिमका लािग उपलब्ध सबै छ सब्स्टिच्युटको अवसर प्रयोग गर्नेछन् । प्रशिक्षक रसलाई पनि इतिहासमा कमै रूचि हुनेछ, किनभने नेपालले औपचारिक रूपमा दुईपल्ट नेपालको सामना गरेकामा दुवैमा पराजित छ । विश्वकप छनोटअन्तर्गत सन् १९८९ मा नेपालले दुईपल्ट सिंगापुरको सामना गरेको थियो ।
त्यसमध्ये दक्षिण कोरियोको सोलमा भएको पहिलो खेलमा नेपाल ३–० ले पराजित रह्यो भने सिंगापुरमै भएको खेलमा नेपालले ७–० को बिर्सनलायक हार बेहोरेको थियो । सिंगापुरमै नेपालको अबको खेल चौथो हुनेछ । यसअघिका सबै तीनै खेलमा नेपाल पराजित छ । त्यसमा नेपाल दक्षिण कोरियाविरुद्ध ४–० ले मलेसियाविरुद्ध ३–० ले पराजित थियो । सन् १९८२ मा पनि नेपालले किंग्स कपको बैंककमा भएको खेलमा पनि नेपाल सिंगापुरको हातबाट २–० ले पराजित भएको थियो ।
यस्तोमा नेपालले औपचारिक वा अनौपचारिक कुनै खेलमा पनि सिंगापुरविरुद्ध बराबरीमा मात्र निकाल्न सकेको नभई टोलीविरुद्ध कुनै गोल पनि गर्न सकेको छैन । एसिया कप छनोटको तेस्रो चरणमा सिंगापुर समूह ‘सी’ मा रहेको छ । टोलीको प्रतिद्वन्द्वीमा भारत, हङकङ र बंगलादेश छन् । नेपाल भने समूह ‘एफ’ मा छ । यो समूहमा रहेका अन्य टिममा भियतनाम, मलेसिया र लाओस छन् । नेपालले छनोटको आफ्नो पहिलो खेल मंगलबार मलेसियाविरुद्ध खेल्दै छ ।




