त्यो २५ करोड कस्को हो ? दोषीमाथि कारवाही होस् : रामहरि खतिवडा

काठमाडौं : नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले २५ करोड बराबरको अवैध विदेशी मुद्रा बरामद प्रकरणमा मुख्य दोषिसम्म पुग्ने गरि अनुसन्धान गर्न माग गरे। उनले विभिन्न प्रकरणमा ड्राइभर र भरिया पक्रने र मालिकसम्म नपुग्ने प्रवृति देखिएको भन्दै मुख्य नाइकसम्म पुगेर कारवाही गर्नुपर्नेमा जोड दिए। प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खतिवडाले सरकारले केही गर्न सक्दैन भन्ने गलत भाष्य चिर्न उक्त घटनाका मुख्य दोषी पत्ता लगाइ तस्करी र भ्रष्टाचारी तह लगाउन सरकार तयार छ भन्ने सन्देश दिनुपर्ने बताए।

‘नेपाल सरकारले हिजो अवैध रुपमा सिन्धुपाल्चोकका कुसान लामा ड्राइभरले हाकेको एउटा ट्रकबाट २५ करोड नेपाली रुपैयाँ युरो र डलर गरेर समात्न सफल भएकोमा  सरकारलाई धन्यवाद दिन चाहन्छु। कहिले सुन तस्करीका रुपमा त कहिले डलर तस्करीका रुपमा प्रयोग हुने ड्राइभर र भरियाहरूलाई समाउने । जो धनी छ उनीहरू कहाँ नपुग्ने।  यो प्रवृत्तिलाई अन्त्य गर्न सरकारसँग माग गदर्छ। कहिले १८ किलो सुन, कहिले ३३ किलो सुनका नाममा यसैगरी विभिन्न भरिया र ड्राइभरलाई पक्रिने  र मालिकसँग नपुग्ने प्रवृत्ति हिजोका दिनमा देखिएको थियो। अहिले पनि सरकार त्यसैगरी गहिरो अनुसन्धानसम्म नपुगेर यिनै ड्राइभर र भरियालाई समातेर मुख्य व्यक्तिलाई समात्न नसके फेरि आँखामा छारो हालजस्तो देखिन पुग्छ,’उनले भने,’यसैले सरकार यस्ता तस्करीका नाइकेहरूसँग पुगोस् जुन तहको भएपनि कारवाहीको दायरामा ल्याओस।’

त्यस्तै सांसद रोशन कार्कीले टोखामा ठूलो मात्रामा अवैध विदेशी मुद्रा बरामद भएको भन्दै नेपाल तस्करहरूको ट्रान्जीट प्वाइन्ट बनेको हो ? भन्दै प्रश्न गरिन्। भ्रष्टाचारमा नेपालले नयाँ नयाँ किर्तिमान कायम गरेको उनले टिप्पणी गरिन् । उनले जनताको सहनशिलतामा धेरै परीक्षा लिइराखे सरकारलाई अप्ठेरो पर्ने चेतावनी समेत दिइन्।

मंगलबार प्रहरीले काठमाडौंको टोखाबाट करिब २५ करोड बराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकका कुसान लामालाई पक्राउ गरेको थियो।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः