
वीरगञ्ज । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन जारी छ । बिहान १० बजेबाट सुरु भएको मतदानमा दिउँसो २ बजे सम्म २३ सय ३७ मत मात्र खसेको निर्वाचन प्रमुख दिलीप सिंहले जानकारी दिएका छन् ।
जसमा १ नम्बर बुथमा ३ सय ५२, २ नम्बर बुथमा २८४, ३ नम्बर बुथमा २९७, ४ नम्बर बुथमा २३१, ५ नम्बर बुथमा ३०८, ६ नम्बर बुथमा ३३८, ७ नम्बर बुथमा २०५, ८ नम्बर बुथमा १३३ र ९ नम्बर बुथमा २३५ मत खसेको छ ।
निर्वाचन कार्य तालिकाअनुसार बिहान ८ बजे बाट सुरु हुने भनिएको मतदान २ घण्टा ढिलो भई १० बजे मात्रै सुरु भएको थियो । सिंहका अनुसार निर्वाचनका सम्पूर्ण तयारी पूरा भएपछि मात्र मतदान प्रक्रिया अगाडि बढाइएको थियो ।
निर्वाचन अधिकृत सिंहका अनुसार ठाकुरराम बहुमुखी क्याम्पसमा ९ वटा मतदान स्थल बनाइएको छ । जहाँ कुल १० हजार ७२९ जना मतदाताले १४ वटा सङ्गठन र समूहलाई मतदान गर्ने छन् ।
१६ वर्षपछि स्ववियु निर्वाचन हुन लागेकाले विद्यार्थीहरूमा विशेष उत्साह देखिएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसहरूमा आज स्ववियु निर्वाचन भइरहेको छ ।
ठाकुरराम क्याम्पसमा जारी मतदानमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको छ भने निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ ।




