
वीरगञ्ज । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पस, वीरगञ्ज नर्सिङ् क्याम्पससहित ४६ वटा अंगिक क्याम्पस र अरु सम्बन्धन प्राप्त ३ सय भन्दा बढी क्याम्पसमा आज चुनाव हुन लागेको हो ।
मतदान बिहान ८ बजेदेखि ४ बजे सम्म हुनेछ । १३ वटा आंगिक क्याम्पसमा चुनावी प्रक्रिया रोकिएको छ ।
‘रोकिएका क्याम्पसमा सहमतिको प्रयास भइरहेको छ । १५ दिनभित्र चुनाव गराउन भनेका छौं,’ त्रिवि स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीले भने ।
त्रिविको ६४ वटा अंगिक क्याम्पस र एक हजार ५३ वटा सम्बन्धन प्राप्त क्याम्पस छन् । २०७९ मा ५० वटा आंगिक र ३०० बढी सम्बन्ध प्राप्त क्याम्समा चुनाव भएको थियो ।

विद्यार्थी संख्या २०० जनासम्म भएका प्रत्येक क्याम्पसमा ११ सदस्यीय, २०१ देखि १००० जनासम्म विद्यार्धी भएको क्याम्पसमा १५ सदस्यीय, १००१ देखि ३००० जनासम्म विद्यार्थी भएको क्याम्पसमा १९ सदस्यीय र ३००१ जनाभन्दा बढी विद्यार्थी संख्या भएको क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमिति रहने व्यवस्था छ ।
१५ वर्षपछि स्ववियु निर्वाचन हुन लागेको ठाकुरराम बहुमुखी क्याम्पसमा ९ वटा बुथ तोकिएको छ । जम्मा १० हजार ७२९ जना मतदाता रहेको निर्वाचन समितिका सदस्य मुक्तराज भुसालले जानकारी दिए ।
अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा प्रत्यक्ष निर्वाचित हुनेछन् । उपाध्यक्ष र उपसचिवसहित २१ सदस्य निर्वाचित भएपछि त्यसमध्येबाट चयन गरिनेछ । कुनै सङ्घ सङ्गठनको बहुमत आयो भने उपाध्यक्ष र उपसचिव उसैका सदस्यमध्येबाट चयन हुनेछन् । बहुमत आएन भने सहमतिबाट चयन हुनसक्ने व्यवस्था रहेको छ ।




