
काठमाडौँ, ४ चैत : नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरसहित ९ जना उच्च अधिकारीहरु आज राति १२ बजेदेखि अवकास हुने भएका छन्।
कुँवर २०७९ चैत १० गते प्रहरी महानिरीक्षकमा नियुक्त भएका थिए। उनकै ब्याची अतिरिक्त महानिरीक्षक ९एआईजी० प्रशासन विभाग प्रमुख टेकप्रसाद राई, कार्य विभाग प्रमुख बुद्धिराज गुरुङ, मानवस्रोत विभाग प्रमुख दुर्गा सिंह, अपराध अनुसन्धान विभाग प्रमुख कुबेर कडायत र प्रदेश समन्वय विभाग प्रमुख जनकराज भट्टराई रहेका छन्।
प्रहरी नायव महानिरीक्षक (डीआईजी) भोलाबहादुर रावल, ध्रुवबहादुर राउत र गणेश चन्द पनि अवकास हुनेछन्।
उनीहरु प्रहरीको विधमान ३० वर्षे सेवा अवधिका कारण अवकास हुन लागेका हुन्। कुँवरसहितका यी अधिकारीहरु २०५१ चैत ५ गते प्रहरी निरीक्षकमा भर्ना भएका थिए।
यही ब्याचका एआईजीहरू श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, मीरा चौधरी, सन्दीप भण्डारी, किरण राणा, भीमप्रसाद ढकाल, केदार ढकाल, उमेशराज जोशी, रामदत्त जोशी, भरतबहादुर बोहरा लगायत पनि उमेर हदकै कारण ३० वर्षे सेवा अवधि पूरा नहुँदै अवकाश भइसकेका छन्।
पोषराज पोखरेल, राजेशनाथ बास्तोला, सुरेन्द्रप्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनालले पनि उमेर हदकै कारण ३० वर्षे सेवावधि पूरा गर्न पाएनन्। उनीहरू डीआईजीबाटै अवकाश भएका थिए।
कुँवरसहितका उच्च अधिकारीहरु अवकास भएसँगै अब प्रहरीमा उनीहरुकै वैकल्पिक टोलीले कमाण्ड गर्ने भएको छ। २०५२ भदौ १९ गते निरीक्षकमा भर्ना भएका तीन एआईजी मध्य एक जना आजै आईजीपी बन्नेछन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआई)का निर्देशक एआईजी दीपक थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदीप गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ मध्येबाट सरकारले आईजीपी बनाउनेछ।
उनीहरु मध्य जो आईजीपी भए पनि आगामी भदौ १९ गतेसम्म नेतृत्वमा रहनेछन्। त्यसपछि ३० वर्षे सेवा अवधिका कारण अवकास हुनेछन्। संसदमा पेश भइसकेको प्रहरी ऐन पारित भएमा कार्यकाल थप हुन सक्नेछ। सेवा अवधि हटाउने व्यवस्थासहित नयाँ ऐेनको तयारी छ।




