अन्तरिक्ष यात्रीको स्वास्थ्यमा कस्तो असर पर्छ ?

spot_img

४ चैत, काठमाडौं । बोइङको नयाँ स्टारलाइनर क्याप्सुल परीक्षण गर्न भन्दै अन्तरिक्षमा गएका बट्च विलमोर र सुनिता विलियम्सको यात्रा केवल आठ दिनको हुने अपेक्षा गरिएको थियो । तर प्राविधिक समस्याका कारण उनीहरूको बसाइ नौ महिना लामो बन्यो ।

गत जुन ५ मा केप क्यानेभरलबाट अन्तरिक्ष स्टेसनमा प्रस्थान गरेका उनीहरु नौ महिनासम्म गुरुत्वाकर्षणविहीन, सूर्यको उज्यालोबिनाको, र उच्च विकिरणयुक्त वातावरणमा बिताउन बाध्य भएका छन् ।

यही बीचमा, उनीहरुलाई पृथ्वीमा ल्याउन एलन मस्कको कम्पनी स्पेसएक्सको फाल्कन ९ रकेट शुक्रबार अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट सफलतापूर्वक प्रक्षेपण गरिएको छ ।

त्यसमा सवार चार अन्तरिक्ष यात्रीहरुले सुनिता र विलमोरलाई प्रतिस्थापन गर्ने छन् । स्पेसएक्सको उक्त मिसन शनिबार अन्तरिक्ष स्टेसनमा पुग्ने छ । उसले चार नयाँ अन्तरिक्ष यात्रीहरू अन्तरिक्षमा छाड्ने र नौ महिनादेखि फसिरहेका विलमोर र सुनितालाई पृथ्वीमा फिर्ता ल्याउने छ ।

मस्कले विलमोर र सुनिता १९ मार्चको दिन कुनै पनि समयमा पृथ्वीमा फिर्ता हुने बताएका छन् ।

अन्तरिक्ष यात्रीको स्वास्थ्यमा कस्तो असर पर्छ ?

पृथ्वीमा वायुमण्डल र हाम्रो ग्रहको चुम्बकीय क्षेत्रले सूर्यको विकिरणबाट हामीलाई जोगाउँछ, तर अन्तरिक्षमा यस्तो सुरक्षा अत्यन्त कम हुने वैज्ञानिकहरु बताउँछन् ।

यसकारण, अन्तरिक्ष यात्रीहरूमा क्यान्सरको जोखिम बढ्न सक्छ, डीएनए क्षति हुन सक्छ, मुटुसम्बन्धी समस्या, रोगप्रतिरोधात्मक प्रणालीमा गडबडी र स्नायु प्रणालीमा असर पर्न सक्छ ।

यद्यपि, अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) पृथ्वीको चुम्बकीय क्षेत्रभित्रै रहेकाले केही हदसम्म विकिरणबाट सुरक्षित भने रहने बताइन्छ ।

गुरुत्वाकर्षणको अभाव

अन्तरिक्षमा गुरुत्वाकर्षण अत्यन्तै न्यून (माइक्रोग्राभिटी) हुन्छ, जसले मानव शरीरलाई प्रत्यक्ष असर गर्छ । गुरुत्वाकर्षणको अभावले हड्डीको घनत्व (बोन डेन्सिटी) घटाउँछ, जसले हड्डीहरू कमजोर बनाउँछ । नासाका अनुसार, यदि आवश्यक सावधानी अपनाइएन भने अन्तरिक्षमा बिताएको प्रत्येक महिनामा हड्डीको घनत्व एक प्रतिशत कम हुन्छ ।

यसका साथै, मांसपेशीहरू कमजोर हुने समस्या पनि आउन सक्छ । गुरुत्वाकर्षणको अनुपस्थितिमा शरीरभित्रका तरल पदार्थहरू माथि सर्दा अनुहार सुन्निन सक्छ र मस्तिष्कमा चाप बढ्न सक्छ, जसले दृष्टिमा असर पार्न सक्छ ।

सन् २०२३ मा गरिएको एउटा अध्ययनअनुसार, २६ हप्ताभन्दा बढी समयसम्म अन्तरिक्षमा रहेका २४ मध्ये २२ जना अन्तरिक्षयात्रीहरूले बारम्बार टाउको दुख्ने समस्या अनुभव गरेका थिए ।

मानसिक प्रभाव

साँघुरो ठाउँमा र सीमित सामाजिक सम्पर्कका रहँदा मानसिक स्वास्थ्यमा पनि असर पर्न सक्छ । अन्तरिक्षयात्रीहरूमा तनाव, निद्रा सम्बन्धी समस्या हुन सक्छ । पिट्सबर्ग विश्वविद्यालयका अफशिन बेहेश्तीका अनुसार, अन्तरिक्षमा बिताएको समय जति लामो हुन्छ, पृथ्वीमा फर्केपछि पुनःस्थापना प्रक्रिया पनि त्यति नै लामो हुन्छ ।

नासा अन्तरिक्षयात्री फ्र्याङ्क रुबियोले टाइम म्यागजिनसँग भनेका छन्, ‘पृथ्वी फर्किएपछि सुरुका दुई–तीन महिना पुनःस्थापनामै केन्द्रित हुन्छ । तपाईंले आफ्नो परिवारसँग पुनः घुलमिल हुनुपर्ने हुन्छ, अनि शरीरलाई पुनःस्थापित गर्नुपर्ने हुन्छ ।’

उनी थप्छन्, ‘अन्तरिक्षको वातावरणमा शरीर धेरै छिटो अभ्यस्त हुन्छ, तर पृथ्वीमा फर्किएपछि पुनः अनुकूलन (रिड्याप्टेसन) प्रक्रिया अझै लामो र कठिन हुनसक्छ ।’

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः