विदेशी विनिमय सञ्चिति साढे २३ खर्ब नाघ्यो

काठमाडौं : बाह्य क्षेत्रमा निरन्तर सुधार भइरहँदा समग्र मुलुक यो क्षेत्र सबल भएकोमा ढुक्क छ। यसको मुख्य कारण चालु खातादेखि शोधनान्तर बचतमा रहँदै आएकोले हो। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आवको सात महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार विशेष गरेर रेमिट्यान्स बढ्दो रूपमा भित्रिएको विदेशी मुद्रा सञ्चिति अधिक भएकाले पनि ढुक्कको वातावरण भएको हो।

चालु आर्थिक वर्षको पहिलो महिना २० खर्ब ४१ अर्ब १० करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति माघ मसान्तमा २३ खर्ब ६९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। यसबीच सञ्चिति रकम १६.१ प्रतिशतले वृद्धि भयो। अमेरिकी डलरमा यस्तो सञ्चिति १७ अर्ब ५ करोड पुगेको छ। नेपाली मुद्रामा सञ्चितिको वृद्धिदर उच्च देखिए पनि डलरमै भने कम देखिन्छ। किनभने पछिल्लो समय समग्रमा डलर बलियो हुँदै गर्दा नेपाली मुद्रा अवमूल्यन भएकाले डलरमा सञ्चिति कम देखिन गएको हो। हाल कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकसँग २१ खर्ब ५ अर्ब १४ करोड छ। यस्तै, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग २ खर्ब ६३ अर्ब ९३ करोड छ। उक्त विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत छ। यसअनुरूप हालसम्म अधिक सञ्चिति पर्याप्तता मुलुकमा १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। यो आर्थिक वर्ष २०८१-८२ को सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले यस्तो पर्याप्तता धान्ने स्थिति देखाएको हो।

हालको सञ्चिति उच्च अवस्थामा भएको औंल्याउँदै राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट अझै आयात पर्याप्तता सूचक हेर्दा सञ्चितिमा विस्तार नभएको बताउँछन्। यद्यपि सञ्चितिले मुलुक बलियो त देखिन्छ तर त्यसको उपयोगिता नबढाए ‘आइडल’ पुँजीको रूपमा बस्दा मुलुकलाई फाइदा नहुने पनि अर्थविद्हरू टिप्पणी गर्छन्। यसैले यतिबेला अधिक सञ्चितिको स्थिति भएकाले निजी र सरकारी क्षेत्रको लगानी बढाउने उपयुक्त समय भएको बताउँछन्, डा.भट्ट। सञ्चितिलाई लगानी गर्न जरुरी छ। सरकारले पुनर्निर्माणका कामलाई द्रुत गति दिएर विकास खर्च बढाएमा पनि त्यसका लागि आयातीतमा विदेशी मुद्रा प्रयोग हुन जान्छ। यसो हुँदा मुलुकमा रोजगारी पनि वृद्धि हुन्छ र सबैको खल्तीमा पैसाको पहुँचसमेत पुग्छ। यसले अर्थतन्त्रमा सकारात्मक रक्त सञ्चार गर्नेछ।

विदेशी मुद्रा सञ्चिति अधिक भयो भने पनि खतरा हुनेबारे अर्थविद्हरूले औंल्याउँदै पनि आएका छन्। यसर्थ धेरै महिनाको आयात धान्न पुग्छ भनेर ढुक्क हुने होइन। धेरै बचत गर्नेमा केन्द्रित हुनेभन्दा पनि अर्थतन्त्र चलायमान बनाउन जरुरी देखिन्छ। सञ्चिति परिचालन गरिएन भने उल्टो नोक्सान हुन सक्ने र दायित्व बढ्न सक्नेमा पनि सरोकारवालाहरूले ध्यानाकर्षण गराएका छन्।

कुल विदेशी विनिमय सञ्चिति अधिक हुनुको मुख्य कारण मुलुकमा रेमिट्यान्सको आकार बढ्दै गएकाले हो। माघसम्म विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ९ खर्ब ५८ करोड पुगेको छ। यो अमेरिकी डलरमा ६ अर्ब ६५ करोड हो। यसबीच वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै रेमिट्यान्सको आकार पनि बढेको हो। वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७४ हजार ६ सय २२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ८ सय ८६ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ४५ हजार ४ सय ३२ र १ लाख ५७ हजार ४५ रहेको थियो।

आयात -निर्यातमा वृद्धि

आर्थिक वर्ष २०८१-८२ को ६ महिनामा कुल वस्तु निर्यात ९८ अर्ब ७९ करोड पुगेको छ। गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ४६.१, १९.७ र १.० प्रतिशतले वृद्धि भएको छ। यस्तै, कुल वस्तु आयात ८ खर्ब २२ अर्ब ३७ करोड पुगेको छ। यसअनुरूप आयातभन्दा निर्यात निरन्तर कम भइरहँदा कुल वस्तु व्यापार घाटा ४.४ प्रतिशतले वृद्धि भई ७ खर्ब २३ अर्ब ५८ करोड पुगेको छ। निर्यात– आयात अनुपात १२ प्रतिशत पुगेको छ।

मुलुकबाट बाहिरिनेभन्दा भित्रिने विदेशी मुद्रा बढ्दा निरन्तर शोधनान्तर बचतमा छ। यसअनुरूप चालु आवको ७ महिनासम्ममा शोधनान्तर स्थिति २ खर्ब ४९ अर्ब २६ करोडले बचतमा छ। अझ अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति अहिलेभन्दा बढी अर्थात् २ खर्ब ७३ अर्ब ५२ करोडले बचतमा थियो। यससँगै, चालु खाता पनि १ खर्ब ४८ अर्ब १७ करोडले बचतमा छ। अझ अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब ६२ अर्ब ५६ करोडले बचतमा थियो। यसबीच पुँजीगत ट्रान्सफर ४ अर्ब २९ करोड रुपैयाँ छ भने प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ६ अर्ब ५० करोड रुपैयाँ भित्रिएको छ।

महँगीमा झिनो नियन्त्रण

यसअघिसम्म महँगीको दबाब भोगिरहेका उपभोक्ताका लागि थोरै भए पनि राहत मिलेको तथ्यांकमा देखिन्छ। किनभने राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार मुद्रास्फीतिमा चाप कम भएको देखिन्छ। तथ्यांकअनुसार चालु आवको माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१६ प्रतिशत छ। जबकि यसअघिको वर्षको सोही महिनामा ५.०१ प्रतिशत थियो। गत असोजमा बेमौसमी मुसलधारे वर्षाका कारण बाढी, पहिरोले खाद्यान्नको मूल्य उल्लेख्य बढेको थियो।

भारतको प्रभाव पनि नेपालमा पर्दा खाद्यवस्तु महँगो हुँदा समग्रमा मुद्रास्फीति अधिक थियो। तर अहिले खाद्यान्न मूल्य नियन्त्रण भएकाले पनि समग्रमा मुद्रास्फीतिमा चाप कम परेको बताउँछन्, राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. भट्ट। ‘अहिले खाद्यान्न मूल्य नियन्त्रण भएकाले पनि समग्रमा मुद्रास्फीतिमा चाप कम छ। अझै आपूर्ति शृंखला व्यवस्थित बनाउन सके मुद्रास्फीति नियन्त्रण हुने देखिन्छ,’ उनले सुझाव दिँदै भने।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः