नेपालको शिक्षाको इतिहास उत्ति लामो छैन । नेपाली शिक्षाको इतिहासलाई हेर्ने हो भने सन् १८५४ बाट पहिलो विद्यालयस्वरूप दरबार हाइस्कूल सञ्चालनमा आए तापनि जनताको पहुँचमा थिएन । यसलाई राजा महाराजा तथा राणाहरूकै सन्तानका लागिमात्र सञ्चालनमा ल्याइएको थियो ।
दरबार हाइस्कूल रहँदाको समयमा अथवा त्योभन्दा पहिलेको समयमा राज घरना तथा खाद्यानी परिवारका सदस्यहरू विदेश गएरै पढ्ने परम्परा रहिआएको थियो । राणा खाद्यानका कोहीकोही त्यो बेला पनि पढ्नका लागि बेलायततिर समेत नपुगेका होइनन्, तर अधिकांशका लागि भने पढ्नका लागि भारतको बिकल्प थिएन ।
विद्यालयमा गएर लिइने आधुनिक शिक्षामात्र होइन कि त्योभन्दा पहिलेबाट चलिआएको संस्कृत शिक्षा वा गुरुकुल शिक्षा पद्धतिमा पनि नेपालीहरू काँशीलगायत भारतका विविध ठाउँहरूमा जाने प्रचलन चलिआएकै हो । यसबाट यो प्रष्ट हुन्छ कि नेपालबाट पढ्नका लागि विदेशिने परम्परा कुनै नौलो होइन । फरक यत्ति हो, पहिले पढ्नका लागि विदेशिनुको बिकल्प थिएन । तर अहिले सबैथोक हुँदाहुँदै पनि धेरै थोक हराइसकेको छ । आखिर किन यस्तो भइरहेको छ ?
नेपाली विद्यार्थीहरूको विदेश पढाइको मोह दिन प्रतिदिन बढ्दो छ । हिजोभन्दा आज पढ्नका लागि भनेर विदेश जानेको लर्काे लम्बिँदै गइरहेको साँचो हो । पढाइपछाडि लुकेका कारणहरू जे हुन् । तथ्याङ्कहरूले देखाउँछन्, पढ्नका लागि भनेर गएकामध्ये ८० प्रतिशत नेपाली देश फर्किँदैनन् । उनीहरू विदेशमै सेटल हुन्छन् । आफूलाई स्थापित बनाउँछन् । देश भने हिजोभन्दा आज खोक्रो बन्दै गइरहेको आँखै अगाडि देखिन्छ । आखिर के छ विदेशमा जुन नेपालमा छैन ? यो लेख यसै प्रश्नको उल्झनमा अल्झिएको छ ।




