
भारत च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनलमा अष्ट्रेलियालाई पराजित गर्दै भारत फाइनलमा पुगेको हो ।
तटस्थ स्थल दुबई इन्टरनेशनल स्टेडियममा भएको खेलमा भारत ४ विकेटले विजयी भएको हो । विजयका लागि २६५ रनको चुनौती भारतले ४८.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको हो ।
भारतका लागि विराट कोहलीले सर्वाधिक ८४ रन बनाए । उनले संयमित हुँदै ९८ बलको सामना गरेका थिए ।
त्यस्तै श्रेयस अथ्यरले ४५, केएल राहुलले ३४ बलमा अविजित रहँदै ४२ तथा कप्तान रोहित शर्मा र हार्दिक पाण्डेयाले समान २८ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९.३ ओभरमा अलआउट हुँदै २६४ रन बनायो ।
कप्तान स्टेभेन स्मिथले ७३ तथा एलेक्स क्यारीले ६१ रन बनाए । त्यस्तै ओपनर ट्राभिस हेडले ३९ रन बनाए ।
१४ पटक टस हार्ने कीर्तिमान बनाएको भारतका लागि मोहम्मद शमीले ३ तथा रविन्द्र जडेजा र वरुण चक्रवर्तीले २–२ विकेट लिए । त्यस्तै हार्दिक पाण्डेया र अक्षर पटेलले १–१ विकेट लिए ।
भारतले अहिलेसम्म एक दिवसीयमा लगातार १४ टस हारिसकेको छ । यो कुनै पनि टिमको रेकर्ड हो । यसअघि नेदरल्याण्ड्सले लगातार ११ खेलमा टस हारेको थियो ।
भारतले यो जितसँगै सन् २०२३ को एक दिवसीय विश्वकपको फाइनलमा अष्ट्रेलियासँग हारेको खेलको बदलासमेत लिएको छ ।
भारतले अब आगामी आइतबार न्यूजिल्याण्ड र दक्षिण अफ्रिकाबीचको विजेतासँग फाइनल खेल्नेछ ।
दोस्रो सेमिफाइनलमा बिहीबार न्यूजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दै छन् ।




