
रौतहट । मधेश प्रदेशका विभिन्न जिल्लामा बिना इजाजत सञ्चालनमा आएका निजी अस्पतालहरू विरुद्ध प्रदेश सरकारले कडा कारबाही थालेको छ। प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह स्वयं अनुगमनमा निस्केपछि अस्पताल माफियाहरू त्रसित बनेका छन्।
शनिबार साँझ रौतहटको चन्द्रपुर, गौरलगायतका स्थानमा गरिएको अनुगमनका क्रममा धेरै निजी अस्पतालहरू बिना स्वीकृति सञ्चालनमा रहेको पाइएको छ। धेरै अस्पतालका सञ्चालकहरू ताला लगाएर भागेका थिए।
गैरकानुनी रूपमा सञ्चालित अस्पतालहरूले मापदण्डविपरीत सेवा प्रदान गर्दै सर्वसाधारणलाई ठगी गरिरहेको गुनासो आएपछि प्रदेश सरकार कडारूपमा प्रस्तुत भएको हो। स्थानीय तहहरू स्वयम् यस्ता अस्पतालहरूलाई निरन्तरता दिनेमै संलग्न रहेको आशंका गरिएको छ।
मुख्यमन्त्री सिंहको नेतृत्वमा भएको अनुगमनका क्रममा हाईवे ट्रमा सेन्टर, सिभिल ह्युमन रिसर्च सेन्टर, सिम्स अस्पताल, चन्द्रपुर सामुदायिक अस्पताल जस्ता संस्थाहरू बिना दर्ता सञ्चालनमा रहेको खुलासा भएको छ। साथै, एपोलो सिटी अस्पताल, गोल्डेन अर्थोपेडिक एण्ड जेनरल हस्पिटल, चपुर सिटी हस्पिटल लगायतका अस्पतालहरू ताला लगाएर भागेको पाइएको छ।
प्रदेश सरकारको यो कडाइपछि स्वास्थ्य माफियाहरूको गोरखधन्दा समाप्त हुने अपेक्षा गरिएको छ। साथै, सरकारले कानुनी प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ। मुख्यमन्त्री सिंहले आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न सरकार दृढ रहेको बताएका छन्।




