
वीरगञ्ज । ६० किलो ८० ग्राम चाँदीसहित पक्राउ परेका तीन जनाविरुद्ध करिब एक करोड रुपैयाँ बराबरको मुद्दा दायर गरिएको छ।
राजस्व अनुसन्धान विभागले बाराको कलैया उपमहानगरपालिका-५ का ३६ वर्षीय कर्मा साह सोनार, उनकी श्रीमती ३७ वर्षीया इन्द्रकुमारी परियार र वीरगञ्ज महानगरपालिका-२८ का ४० वर्षीय शंकर साह सोनार भनिने शंकरप्रसाद सोनारविरुद्ध ९६ लाख ६० हजार ८६४ रुपैयाँ बिगो माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।
विभागकी प्रवक्ता कृष्णकुमारी श्रेष्ठका अनुसार उनीहरूमाथि राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ ले निषेधित गरेको कसुर गरेको अभियोग लगाइएको छ।
२१ मंसिरमा बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१, अमलेखगञ्जबाट पक्राउ परेका कर्मा साह सोनारसहित तीनै जनामाथि कानूनी प्रक्रिया अघि बढाइएको छ। राजस्व अनुसन्धान विभागले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन नाकामा कडाइ गर्ने तयारी गरिरहेको जनाएको छ।




