
वीरगञ्ज । सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म वीरगञ्जले भन्सार मेनगेटबाट पैदल यात्रुहरूलाई चेकजाँच गर्ने क्रममा एक भारतीय नागरिकलाई एअर गनसहित नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा भारत, पश्चिम बंगाल, कोलकाताको खिदिरपुर पोस्ट अफिस घर भई हाल ललितपुरमा कोठा भाडामा लिई फर्निचरको काम गर्ने ३४ वर्षीय मिम्मर हुसेन रहेका छन्। उनले हातमा बोकेर ल्याउँदै गरेको मोडल नं. M35 को एअर गन तथा सोही गनमा प्रयोग हुने ८२ वटा गोली फेला पारिएको सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी दिए।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको व्यक्ति तथा बरामद हतियार आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि प्रहरी चौकी इनरुवामा बुझाएको छ।
यस घटनाले वीरगञ्ज भन्सार नाकामा हथियार ओसारपसारमा हुने जोखिमलाई उजागर गरेको भन्दै सुरक्षा निकायहरूले सतर्कता अपनाइरहेको बताएका छन्।




