
पर्सा, २०८१ फागुन ६ – पर्सा प्रहरीले सोमबार विशेष अभियान सञ्चालन गर्दै अवैध रूपमा सञ्चालन गरिएका मदिरा भठीहरू नष्ट गरेको छ। घरेलु तथा अवैध मदिरा उत्पादन तथा बिक्रीवितरण नियन्त्रण गर्ने उद्देश्यले गरिएको सो अभियानमा ठूलो मात्रामा मदिरा तथा मदिरा बनाउने सामग्री नष्ट गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार, गस्ती टोलीले विभिन्न स्थानमा अवैध रूपमा मदिरा उत्पादन भइरहेको सूचना पाएपछि छापा मारी नष्ट गरेको हो। सो क्रममा सयौं लिटर मदिरा नष्ट गर्नुका साथै मदिरा उत्पादनमा प्रयोग गरिएका उपकरण पनि ध्वस्त पारिएको थियो।
प्रहरीका अनुसार, अवैध मदिरा बिक्री तथा उत्पादनले समाजमा अपराध वृद्धि गर्नुका साथै स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले यस्ता गतिविधि नियन्त्रण गर्न अभियानलाई निरन्तरता दिइनेछ। साथै, प्रहरीले स्थानीयलाई अवैध मदिरा उत्पादन तथा सेवन नगर्न अनुरोध गर्दै कानून उल्लंघन गर्नेहरूलाई कानुनी कारबाही गरिने चेतावनी दिएको छ।
स्थानीय बासिन्दाले समेत प्रहरीको यो कदमको स्वागत गरेका छन्। उनीहरूका अनुसार, अवैध मदिराका कारण समुदायमा विभिन्न समस्या उत्पन्न भइरहेको थियो, जसलाई नियन्त्रण गर्न प्रहरीको यो कदम प्रभावकारी हुनेछ।




