पर्सा र बाराको सुरक्षाकर्मीलाई छल्दै मकवानपुर गएर पक्राउ पर्छन् तस्कर र अपराधी

वीरगञ्ज । मकवानपुर प्रहरीले ४ ग्राम ९१० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित चार जनालाई पक्राउ गरेको छ ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, ड्राइभरडाँडास्थित पूर्व–पश्चिम राजमार्गमा वीरगञ्जबाट हेटौँडातर्फ जाँदै गरेको दुई वटा मोटरसाइकल जाँच गर्ने क्रममा खैरो हेरोइन जस्तो देखिने पदार्थसहित प्रहरीले मकवानपुर हेटौँडा–८ निवासी २३ वर्षीय निखिल तिमल्सिना, हेटौँडा–८ कै २८ वर्षीय भीमसेन पाण्डे, हेटौँडा–७ निवासी २७ वर्षीय मन्जित गौतम, र हेटौँडा–५ निवासी २० वर्षीय साकार ढुङ्गेललाई नियन्त्रणमा लिएको हो ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले शङ्का लागी उनीहरूलाई जाँच गर्दा पक्राउ परेकाहरूमध्ये निखिल तिमल्सिनाले बायाँ खुट्टाको जुत्ताभित्र लुकाइ ल्याएको अवस्थामा उक्त लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

पर्सा र बाराका सुरक्षा निकायको काममाथि प्रश्न

यद्यपि घटनाले नेपालको सुरक्षा प्रणाली विशेष गरी पर्सा र बारा वरपरका सीमावर्ती जिल्लाहरूमा सुरक्षा संयन्त्रको प्रभावकारितामाथि गम्भीर प्रश्न खडा गरेको छ ।

नेपाल–भारत सीमा क्षेत्रमा लागूऔषध तस्करी नयाँ विषय होइन । विशेष गरी ब्राउन सुगर जस्ता लागूऔषध भारतबाट तस्करी भई नेपाल भित्र्याइने गरिन्छ । वीरगञ्ज नेपाल प्रवेश गर्ने प्रमुख नाका भएको कारण यहाँ सुरक्षा संयन्त्र निकै कडा हुनु पर्ने हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले वीरगञ्जको सीमा क्षेत्रमा चार तहको सुरक्षा व्यवस्था लागू गरेका छन् । साथै, पर्सा र बारा जिल्लाका अन्य प्रमुख बिन्दुहरूमा पनि कडा सुरक्षा जाँच हुने गरेको छ । तर, यति धेरै सुरक्षा घेराबन्दी हुँदाहुँदै पनि लागूऔषध सेवनकर्ता र तस्करहरूले लागूऔषध मकवानपुरसम्म पुर्याउनु सुरक्षा संयन्त्रको कमजोरीको सङ्केत हो ।

पक्राउ परेका आरोपितहरूले वीरगञ्ज हुँदै पर्सा र बाराका विभिन्न सुरक्षा घेराहरू पार गर्दै मकवानपुरसम्म ब्राउन सुगर पुर्‍याएको घटनाबाट सहजै अनुमान गर्न सकिन्छ ।

सुरक्षा जाँच प्रभावकारी भएको भए उनीहरूलाई सीमा क्षेत्रमै लागूऔषधसहित नियन्त्रणमा लिन सकिन्थ्यो । पर्सा र बारा प्रहरीले कडाइका साथ सुरक्षा जाँच गरेको भए, यसरी लागूऔषध मकवानपुरसम्म पुर्‍याउन गाह्रो पर्थ्यो । दिनहुँ सीमा क्षेत्रमा लागूऔषधसहित पक्राउ पर्ने घटनाहरू भए पनि तस्करहरूले अझै पनि प्रहरीलाई छल्न सक्ने अवस्था रहेको देखिन्छ ।

घटनाले नेपालका सीमा क्षेत्रहरूमा हुने सुरक्षा लापरबाहीको सङ्केत गर्छ । यदि सुरक्षाकर्मीहरूको निगरानी प्रभावकारी भएन भने, भविष्यमा पनि यस्ता घटनाहरू भइरहने छन् ।

मकवानपुर प्रहरीको सक्रियताका कारण लागूऔषध नियन्त्रणमा लिन सकियो, तर यो घटनाले पर्सा र बारा प्रहरीले सुरक्षामा कमजोरी देखाएको प्रमाण दिएको छ । यदि सुरक्षा संयन्त्रमा सुधार नगरिएमा, लागूऔषध तस्करी झन् जटिल बन्दै जाने निश्चित छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः