नेपाल–भारत उर्जा सचिवस्तरीय बैठकमा अन्तरदेशीय ठूला प्रसारणलाइन बनाउने सहमति

भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारतका उर्जा सचिवस्तरीय बैठकमा आउँदो १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारका लागि अन्तरदेशीय ठूला प्रसारणलाइन निर्माण गर्ने सहमति भएको छ ।

दुवै देशका उर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १२ औं बैठकले संयुक्त लगानीमा चार सय केभी क्षमताका इनरुवा–पुर्णिया र दोधरा–बरेली अन्तरदेशीय प्रसारणलाइनको निर्माण अघि बढाउने सहमति भएको हो ।

दुवै प्रसारणलाइन निर्माण गर्न लगानीको मोडालिटीसमेत निर्माण भएको छ । उर्जा मन्त्रायलका अनुसार यी दुवै प्रसारणलाइन निर्माणका लागि नेपालको तर्फबाट विद्युत् प्राधिकरण र भारतको तर्फबाट पावर ग्रिडको लगानी रहने गरी कम्पनी स्थापना हुनेछ ।

कम्पनीमा नेपालतर्फ बन्ने प्रसारणलाइनमा प्राधिकरणको ५१ प्रतिशत र पावर ग्रिडको ४९ प्रतिशत तथा भारततर्फ प्रसारणलाइन निर्माण गर्दा भारतको पावर ग्रिडको ५१ र नेपालको ४९ प्रतिशत लगानी रहने भएको छ ।

संयुक्त कम्पनीको स्थापनाबारे आवश्यक प्रकृया र काम एक महिनाभित्र सम्पन्न गर्ने सहमति भएको छ ।

बैठकले नेपाल–भारत अन्तरदेशीय तीनवटा उच्च क्षमताका प्रसारणलाइन निजगढ–हरनैया, कोहलपुर–लखनउ र ढल्केबर–मुजफ्फरपुर निर्माणमा पनि सहमति गरेको छ । अहिले नेपाल–भारतबीच उच्च क्षमताको चार केभीको ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइन मात्र सञ्चालनमा छ ।

यो प्रसारणलाइनबाट आठ सय मेगावाट बिजुली आपूर्ति हुँदै आएकोमा क्षमता विस्तार गरी एक हजार मेगावाट आपूर्ति गर्न सक्षम बनाइने उल्लेख छ ।

यसबाहेक चार सय केभी क्षमताकै न्यू बुटवल–गोरखपुर प्रसारणलाइन पनि निर्माणाधिन छ । नेपालले भारतीय प्रसारणलाइन हुँदै थप विद्युत् बङ्गलादेशमा पनि निर्यात गर्ने उदेश्य राखेको छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः