
वीरगञ्ज । अडानी समूहका अध्यक्ष भारतीय खरबपति गौतम अडानीले आफ्नो छोरा जीत अडानीको विवाह सादा र परम्परागत तरिकाले सम्पन्न गर्ने वाचा पूरा गर्दै, सामाजिक सेवामा दश हजार करोड भारतीय रुपैयाँ दान गरेका छन् ।
गत महिना भारतको उत्तर प्रदेशस्थित प्रयागराज सहरमा आयोजित हिन्दुहरूको महाकुम्भ मेलाको भ्रमणका क्रममा अडानीले आफ्नो छोराको विवाहलाई सामान्य तरिकाले सम्पन्न गर्ने बताएका थिए । उनले भनेअनुसार नै जीत अडानीको विवाह कुनै भव्य समारोह नभई सीमित परिवारका सदस्यहरू र निकटस्थ मित्रहरूको उपस्थितिमा सम्पन्न भएको छ ।
आफ्नो छोराको विवाहको अवसरलाई समाजसेवाको प्रेरणादायी उदाहरण बनाउँदै अडानीले दश हजार करोड भारतीय रुपैयाँ विभिन्न सामाजिक कार्यहरूमा लगानी गर्ने घोषणा गरेका छन् ।
सामाजिक सेवाको लागि ठुलो योगदान
गौतम अडानीले आफ्नो दान स्वास्थ्य सेवा, शिक्षा र सीप विकास जस्ता क्षेत्रमा लगानी गरिने बताएका छन् । उनका नजिकका स्रोतका अनुसार, “सेवा साधना हो, सेवा प्रार्थना हो, सेवा परमात्मा हो” भन्ने सिद्धान्त अनुरूप उनले सामाजिक उत्थानका लागि उक्त रकम प्रदान गरेका हुन् ।
अडानीले विशेष गरी, यस कोषबाट सर्वसाधारणका लागि विश्व स्तरीय स्वास्थ्य सेवा तथा मेडिकल कलेजहरू, गुणस्तरीय तथा सुलभ विद्यालयहरू, र विश्व स्तरीय सीप विकास प्रतिष्ठानहरू निर्माण गरिनेछ बताएका छन् ।
भारतको अहमदाबादस्थित बेल्वेडेयर क्लब, अडानी शान्ति ग्राम टाउनशिपमा आयोजित विवाह समारोहमा जीत अडानीले हीरा व्यवसायी जयमिन शाहकी छोरी दिवा शाहसँग वैवाहिक जीवन सुरु गरेका छन् ।
भारतीय सञ्चारमाध्यमहरूले दाबी गरे अनुसार, विवाह पूर्ण रूपमा गुजराती परम्पराअनुसार धार्मिक विधिहरू सहित सम्पन्न भएको थियो । वैवाहिक समारोहमा कुनै पनि राजनीतिक नेता, ठूला उद्योगपति, कूटनीतिज्ञ, फिल्मस्टार वा अन्य चर्चित व्यक्तित्वहरूलाई निमन्त्रणा गरिएको थिएन ।
गौतम अडानीले आफ्नो नव विवाहित बुहारीलाई “छोरी दिवा” भनेर सम्बोधन गर्दै सामाजिक सञ्जाल (पहिले ट्विटर) मा विवाहको जानकारी साझा गरेका थिए ।

समाजसेवाको नयाँ अध्याय – ‘मङ्गल सेवा’ को घोषणा
विवाहअघि, गौतम अडानीले “मङ्गल सेवा” कार्यक्रमको घोषणा गर्दै नव विवाहित शारीरिक अपाङ्गता भएका महिलाहरूको सहयोगका लागि एक नवीन पहल सुरु गरेका थिए ।
कार्यक्रमअन्तर्गत, प्रत्येक वर्ष पाँच सय नव विवाहित शारीरिक अपाङ्गता भएका महिलाहरूलाई जनही १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरिने उनले घोषणा गरेका छन् । कार्यक्रमको सुरुवात गर्दै जीत अडानीले २१ नव विवाहित महिलाहरू र उनका पतिसँग भेटघाट गरेका थिए ।

सादा विवाह र समाजसेवामा समर्पित गौतम अडानी
माघ ७ गते प्रयागराजको महाकुम्भ मेलामा पत्रकारहरूले गौतम अडानीलाई उनका छोराको विवाहबारे प्रश्न गर्दा उनले भनेका थिए – “हाम्रो विवाह कुनै भव्य सेलिब्रिटी समारोह हुने छैन । हामी सामान्य मानिस हौँ । जीत अडानी यहाँ गङ्गा माताको आशीर्वाद लिन आएका छन् । उनको विवाह सादा र परम्परागत तरिकाले हुनेछ ।”
गौतम अडानीले आफ्नो छोराको विवाहलाई “सेवा स्वयंभन्दा ठूलो हो” भन्ने मूल्यमान्यताको उदाहरणीय प्रतिबद्धताका रूपमा परिणत गरेका छन् । व्यक्तिगत उपलब्धिलाई समाजसेवाको अवसर बनाउँदै धनी वर्गले समाजप्रति जिम्मेवारी बोध गर्ने परिपाटीको मार्ग प्रशस्त गरेका छन् ।
अडानीको कदमले विवाहजस्ता व्यक्तिगत अवसरहरूलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै नयाँ दृष्टान्त प्रस्तुत गरेको छ । यसले सार्वजनिक प्रदर्शनभन्दा बढी दीर्घकालीन सकारात्मक प्रभाव पार्नेछ विश्वास गरिएको छ ।




