
वीरगञ्ज । भारतको उत्तर प्रदेश र बिहार राज्यमा अपस्ट्रिम प्रदायकको फाइबर केबलमा क्षति पुगेपछि नेपालमा इन्टरनेट सेवामा व्यापक अवरोध देखा परेको छ ।
आइतबार राति करिब ९ बजेदेखि नेपालका विभिन्न इन्टरनेट सेवा सुस्त बनेका थिए । प्रयोगकर्ताहरूले मोबाइल तथा ब्रोडब्यान्ड इन्टरनेट सुचारु नभएको गुनासो गरिरहेका थिए ।
अपस्ट्रिम प्रदायकको मुख्य केबलमा समस्या उत्पन्न हुँदा नेपालतर्फ आउने इन्टरनेट ब्यान्डविथ अवरुद्ध भएको बताइएको छ । यसले गर्दा इन्टरनेट सेवामा अचानक समस्या देखिएको हो ।
तर, आवश्यक प्राविधिक मर्मतपछि अहिले सेवा पुनः सञ्चालनमा आएको छ । एक नेटवर्क सेवा प्रदायकका प्रतिनिधिका अनुसार हाल नेपालको इन्टरनेट सेवा सामान्य अवस्थामा फर्किसकेको छ ।




