आगलागीबाट हुने क्षति रोक्न नमुना प्रदर्शन

जुम्ला — जुम्ला सदरमुकाम खलंगास्थित नेपाली सेनाको टुँडिखेल मैदानमा आगलागीबाट बच्ने उपाय समेटिएको कृत्रिम घटना अभ्यास प्रदर्शन गरिएको छ । सुख्खा समय सुरु हुने भएकोले सबैभन्दा बढी आगजनीको त्रास हुने गरेको छ ।

प्रदर्शनीमा ग्यासबाट लाग्ने आगो नियन्त्रण, घर तथा निजी आवासमा हुने आगलागी नियन्त्रण, वनजंगल तथा घाँसेमैदानमा हुने आगो नियन्त्रण र शरीरमा लागेको आगो नियन्त्रण कसरी गर्ने भन्ने विषयमा नमुना प्रदर्शनी गरिएको थियो ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीले आगो निभाउन गर्नुपर्ने काम प्रदर्शनीका माध्यमबाट देखाएका थिए । आगो नियन्त्रणबारेमा नेपाली सेना, ग्यासबाट आगो लाग्दा कसरी निभाउने भन्ने विषयमा सशस्त्र प्रहरी र वनजंगलमा आगो लाग्दा नियन्त्रण गर्ने बारेमा नेपाल प्रहरी नमुना देखाएका थिए । आगो लाग्दा आत्तिन नहुने र घरबाहिर निस्कने तरिकादेखि घाइतेको उद्धारसम्मका अभ्यास गरिएको थियो ।

जुम्लामा सबैभन्दा बढी आगलागीका घटना भइरहने भएकोले सचेतना आवश्यक देखिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । गत वर्ष १६ वटा आगलागीका घटना भएकोमा चालु आर्थिक वर्षको हालसम्म ४ वटा आगलागीका घटना भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

विपद व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले आगलागीबाट बच्न सचेतनाको जरुरत रहेको बताए । विपद् जति बेला पनि आउन सक्ने भएकोले नागरिक सचेत हुनुपर्ने तर्क उनको थियो ।

चन्दननाथ नगरपालिकाका कार्यवहाक प्रमुख नवराज देवकोटाले आगो नियन्त्रणका बारेमा नगरपालिका संवेदनशील रहेको बताए । विपदका क्षेत्रमा नगरपालिकाले ठूलो रकम व्यवस्था गरेको छ ।

जिल्लास्थित सुरक्षा निकाय, चन्दननाथ नगरपालिका, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाको सक्रियतामा जिल्लाभर कृत्रिम घटना अभ्यास भइरहेका छन् ।

 

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः