वीरगञ्ज,२५ साउन । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले सामुदायिक विद्यालयहरुको शैक्षिक स्तर सुधार गर्न विभिन्न योजना तथा निर्देशन दिन थालेको छ ।उपमहानगरले नगर भित्रको सामुदायिक विद्यालयका शिक्षकहरूको अध्यापन तालिका र शैक्षिक योग्यता सार्वजनिक गर्न निर्देशन दिएको छ । शिक्षकहरूले विद्यालय समयमै अन्य विद्यालय वा संस्थामा समेत अध्यापन गर्ने गरेको गुनासो आएपछि उपमहानगरपालिकाले कडाइका साथ अनुगमन गर्ने निर्णय लिएको हो ।
यसै सन्दर्भमा सार्वजनिक सूचना प्रकाशन गर्दै उपमहानगरले शिक्षकको योग्यता, व्यक्तिगत विवरण र स्वीकृत पठनपाठन तालिका सार्वजनिक गर्न निर्देशन दिएको हो। केही विद्यालयमा न्यून शैक्षिक योग्यता भएका शिक्षकलाई उच्च कक्षामा अध्यापन गराउँदै अतिरिक्त सेवा सुविधा दिइएको उजुरी आएपछि उपमहानगरले कक्षा सञ्चालन, समय तालिका र शिक्षकहरूको भूमिकाबारे स्पष्टता ल्याउन यो कदम चालेको हो ।
विद्यालयले आगामी भाद्र २ गतेभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित शिक्षकहरूको विवरण उपमहानगरपालिकाको शिक्षा महाशाखामा पेश गर्नुपर्नेछ । साथै विद्यालयको आधिकारिक फेसबुक पेजमार्फत पनि सूचना सार्वजनिक गर्न भनिएको छ ।
उपमहानगरले शिक्षकहरूले कार्यरत विद्यालयबाहेक अन्यत्र अध्यापन गर्नुपरेमा पूर्व स्वीकृति लिनुपर्ने नियम अवलम्बन गर्न समेत स्पष्ट पारेको छ । शिक्षाको गुणस्तर अभिवृद्धि र पारदर्शिता कायम गर्न यो कदम चालिएको उपमहानगरका एक अधिकारीले जनाएका छन्।
उपमहानगरपालिकाले विद्यालयको समग्र अनुगमन र मूल्याङ्कनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित यस्ता नीति लागू गरेको शिक्षा शाखाले जनाएको छ ।