कोलेनिका रौतहटको नयाँ भवन निर्माण कार्य सम्पन्न

वीरगञ्ज, साउन २५ गते । रौतहट सदरमुकाम गौरमा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयको नयाँ  सुविधा सम्पन्न भवन निर्माण कार्य सम्पन्न भएको छ । भवन निर्माण कार्य सम्पन्न भए लगत्तै कोलेनिका रौतहटले सुविधा सम्पन्न नयाँ भवनबाट सेवा प्रवाह समेत सुरु गरेको छ ।

नयाँ भवन निर्माण कार्य सम्पन्न भए पछि हिन्दु परम्परा अनुसार विधिवत पुजाआजा गरी नयाँ भवनमा प्रवेश गरेको र नयाँ भवनबाट सेवा प्रवाह समेत सुरुवात गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटका प्रमुख कोष नियन्त्रक देवी प्रसाद गौतमले बताउनुभयो ।

नयाँ भवन सुबिधा सम्पन्न भएकोले प्रविधिको अधिकतम प्रयोग गरेर कार्यालयको हरेक काम प्रविधि मैत्री बनाउने तथा कार्यालयमा नआइकन हुने कामहरुमा प्रविधिको उच्चतम प्रयोग गरेर सम्पादन गर्ने प्रमुख कोष नियन्त्रक गौतमले बताउनुभयो ।
कोलेनिका रौतहटको साढे तीन तले भवनमा भुँइ तल्लामा पार्किङ्ग, कार्यालय सञ्चालनका लागि सुबिधा सम्पन्न कोठा, मिटिङ्ग हल,कार्यालय प्रमुखको आवास लगायतको सुविधा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले जनाएको छ ।

नयाँ भवनबाट  सेवा प्रवाह सुरु भएसँगै जोखिम अवस्थामा काम गर्ने बाध्यता समाप्त भएको प्रमुख कोष नियन्त्रक गौतमले बताउनुभयो । कार्यालयको पुरानो भवन जिर्ण भएकोले जोखिम अत्याधिक रहेको थियो ।

महालेखा नियन्त्रक कार्यालयले परिवर्तित डिजाइन र भेरिएसन स्वीकृतिमा आनाकानी गर्दै आएका कारण काममा ढिलाइ हुन् गएको थियो । महालेखा नियन्त्रक कार्यालयले गएको असारमा परिवर्तित ‘डिजाइन’ अनुसार भेरिएसन स्वीकृत गरे लगत्तै निर्माण कम्पनीले कामलाई तीव्रता दिइ समय अबधि २०८२ साउन १५ गते भित्र काम सम्पन्न गरेको छ ।

भवन निर्माण कम्पनी सिनर्जी राजदेवी भक्त जेभीका आधिकारिक प्रतिनिधि अरबिन्द जयसवालले परिवर्तित डिजाइनको भेरिएसन समयमा स्वीकृत नहुँदा करिव २० लाख रुपिया कम्पनीलाई आर्थिक भार परेको बताउनुभयो । बैंक ग्यारेन्टी, इन्स्योरेन्स तथा सरसामानको मूल्य वृद्धि लगायतका शिर्षकमा थप खर्च लागेको उहाँले बताउनुभयो ।

पाँच करोड ९९ लाख रुपियाँको लागत अनुमानको टेन्डरमा सिनर्जी राजदेवी भक्त जेभीले तीन करोड ६३ लाख २४ हजार ८७२ रुपियाँ मुअकरसहितमा ठेक्का सकार गरे पनि भेरिएसन स्वीकृत भए पछि सम्झौता रकम तीन करोड १७ लाख ८५ हजार ९२४ रुपियाँ मुअकर बाहेक कायम भएको कोलेनिका रौतहटका लेखापाल ब्रज किशोर साहले बताए ।

कोलेनिका रौतहटले गरेको म्याद थप अनुसार समय सिमा भित्र काम सम्पन्न गरेको तथा महालेखा नियन्त्रक कार्यालयका कारण काममा ढिलाइ भएकाले आफुले मूल्य वृद्धि वापतको रकम पाउनुपर्ने सिनर्जी राजदेवीभक्त जेभीका आधिकारिक प्रतिनिधि जयसवालले बताउनुभयो ।

कार्यालयको सेवा प्रवाह शुक्रबारदेखि नयाँ भवनबाट प्रारम्भ भए पनि महालेखा नियत्रक शोभाकान्त पौडेलबाट भवन उदघाटन हुने प्रमुख कोष नियन्त्रक गौतमले बताउनुभयो ।