वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका–२ सुन्दरबस्तीका ४६ वर्षीय अशोक साहलाई ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
यही साउन २१ गते बुधवार विहान करिब १० बजे ठोरी गाउँपालिका–२ स्थित जंगलमा बाख्रा चराउँदै गरेकी बालिकालाई १० रुपैयाँको नोट देखाएर प्रलोभनमा पारी अश्लील आचरणपछि जबरजस्ती करणी गरेको आरोपमा पीडित पक्षले जाहेरी दिएका थिए ।
विशेष अनुसन्धानपछि सोही दिन दिउँसो करिब ३ बजे प्रहरीले साहलाई नियन्त्रणमा लिई कार्यालयमा ल्याएको जनाएको छ ।
घटनामा संलग्न भएको आरोपमा बिहीबार पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लाम्सालले बताए ।
उनकाअनुसार बालबालिकाविरुद्धका यस्ता संवेदनशील अपराधमा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याउन प्रहरीले कुनै सम्झौता गर्ने छैन । पीडितलाई न्याय दिलाउन आवश्यक सबै कानूनी प्रक्रिया अघि बढाइने उनले बताए ।