पर्साको सखुवा प्रसौनीमा मलखाद वितरणमा अनियमितताको गुनासो, वितरण प्रक्रिया अस्थायी रूपमा रोक

वीरगञ्ज,१८ साउन- पर्साको सखुवा प्रसौनी गाउँपालिका – २ मा रहेको कोडेक कृषि सहकारी संस्थामार्फत मलखाद वितरणमा अनियमितता र विभेद भएको भन्दै स्थानीय किसानहरूले गुनासो गरेका छन् ।

गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ट महतोले किसानहरूको गुनासो सम्बोधन गर्न सम्पूर्ण किसानहरूको भेला बोलाएर छलफल गरेपछि मलखाद वितरण प्रक्रिया हाललाई अस्थायी रूपमा रोकेको बताएकी छन् ।

उपाध्यक्ष बिस्टका अनुसार, कृषि सामग्री संस्थान वीरगञ्जबाट ल्याइएको डीएपी र युरिया मल वितरणका क्रममा एउटै व्यक्तिलाई तीनदेखि चार बोरा मल प्रदान गरिए पनि कतिपय किसानले आफ्नो नाममा मल नपाएको गुनासो गरेका छन् । “गुनासोहरू गम्भीर छन् । अबदेखि पूर्ण निगरानीसहित नियम र ऐन बनाएर मात्र मलखाद वितरण गरिनेछ,” उनले भनिन् ।

कोडेक कृषि सहकारी संस्थाका प्रतिनिधिहरूले उपाध्यक्षको निर्देशनपछि मात्र मलखाद वितरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

छलफलमा सहभागी वडा नम्बर २ का वडाध्यक्ष चिरञ्जीवी महतो थारुले देशैभरि मलखाद अभाव भएको अवस्थामा सबै किसानलाई समेटेर पारदर्शी रूपमा चाँडै वितरण गर्ने व्यवस्था मिलाइने बताए । “अबदेखि कुनै पनि विभेद नहुने गरी सबै किसानलाई मलखाद उपलब्ध गराउन संस्थालाई निर्देशन दिइएको छ,” उनले भने ।

गाउँपालिकामा भएको तीन घण्टाको लामो छलफलमा एक सय भन्दा बढी असन्तुष्ट किसानहरूको सहभागिता थियो । छलफलमा गाउँ–गाउँ र टोल–टोलबाट अगुवा किसानहरूको उपस्थितिमा नियम र पारदर्शितासहित मलखाद वितरण गर्ने मौखिक सहमति भएको छ ।

स्थानीय किसान श्यामसुन्दर दासले मलखाद वितरणमा देखिएको समस्याबारे निष्पक्ष छानबिनको माग गरेका छन् । किसानहरूले मलखाद वितरणमा पारदर्शिता र समानता सुनिश्चित गर्न गाउँपालिका र सहकारी संस्थालाई दबाब दिएका छन् ।

समस्यालाई समाधान गर्न गाउँपालिकाले थप कदम चाल्ने र किसानहरूलाई मलखाद सहज रूपमा उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाएको छ ।

छलफलमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु कुशवाहा, कृषि शाखा प्रमुख प्रिया साह, कोडेक कृषि सहकारी संस्थाका प्रतिनिधि सत्यजित चौधरी, वडाध्यक्ष चिरञ्जीवी महतो थारु र स्थानीय किसानहरूको सक्रिय सहभागिता रहेको थियो ।